उमेर सर्लक्क बढ्दै गयो, शुक्लपूर्णिमाको जूनजस्त गरी । एकाएक अनुहार आकर्षक देखिन थाल्यो । शरीरको बनावटमा बद्लाब आयो । थाइ–पाखुरा बढे । कम्मर पातलो भयो । हिप बढ्यो । शरीर पोटिलो हुँदै आयो । संवेदनशील अङ्गमा परिवर्तन देखियो । त्यो परिवर्तन बयरको दानाजस्तोबाट सुरु भयो, छातीमा पिलो उठेको जस्तो । कतै घाउ उस्रेको हो कि जस्तो । दुवैतिर गाँठा पर्दै आए टुसुक्क उम्रे दुवैतिर, मुनाजसरी । कहीँ छुइयो भने भुतुक्क हुने गरी दुख्ने भयो ।
उमेरले बाह्र पुगेर तेह्र लाग्दै थिएँ, शरीरका विभिन्न अङ्गहरुमा रौँका टुसाहरु उम्रिँदै आए । लाजको गहनामा प्रतिदिन परिवर्तन आउँदै गयो । संवेदनशील ओढार झारपातद्वारा ढाकियो । चिप्लो पदार्थ निस्केर भित्री वस्त्र छिटो फोहोर हुने भयो । मुख धोइरहन मन लाग्ने, ऐना हेरिरहने, कस्तोकस्तो कौतूहलता ! राम्री बन्ने होडबाजी, कपडा फेरीफेरी लगाउन मन लाग्ने, फेसन गर्न मन पर्ने, स्वभाव र बानी–व्यवहारमा फरक आयो । एकाएक आफूमा बद्लाब देखेँ । स्वभाव लजालु बन्यो । आवरण हेर्दा शालीन म, मनचाहिँ चञ्चलिन थाल्यो ।
प्रतिदिनको परिवर्तन, अनौठो अनुभूति, उमेरले बद्लाब ल्यायो ।
एक दिन स्कुलमा सरले पढाउँदै हुनुहुन्थ्यो । मेरो ड्रेस रगताम्ये भयो । स्कट लपक्कै भिज्यो । बसेको बेन्चमा रातै रगत !
के भयो भयो कहिल्यै नभएको ! कहीँ काटिएको छैन, रगत कसरी आयो ? क्लासमा अरुले देख्लान् भन्ने चिन्ता । के गर्नु, कसो गर्नु ! मेरो अनुहार रातो भयो ।
कहाँबाट यतिका रगत बग्यो ? अनभिज्ञ भएँ । झस्किएँ । आत्तिएँ ।
सरको पिरियड सकियो र क्लासबाट निस्कनुभयो ।
म आकाशबाट खसेजस्ती भएँ । के अनिष्ट भयो जस्तो लाग्यो । मर्नु नै भयो । स्तब्ध भएँ । डेक्समा घोप्टो परेर रोएँ । अनुहार छोपेर आँसु झारेँ ।
महेन्द्र स्कुलमा हलचल मच्चियो । मलाई हेर्नेहरुको भीड ! बुदनी, चुनरी, आश्मा, यमुना, सयदा, फरिदा र चाँदनीहरुले मलाई सम्झाए । ‘रेखा नरोऊ’ भन्दै फकाए । सबै विद्यार्थीले मलाई वरिपरिबाट घेरे ।
‘के भयो रेखा ?’ सबैले सोधे ।
म उत्तरविहीन भएँ ।
केटा साथीहरुले पनि सोधे, ‘के भयो रेखा ? किन रोएकी ?’
नरोऊ भन्दै सान्त्वना दिए ।
रानीतलाउको छेउमा रहेको महेन्द्र स्कुलअगाडिको हाम्रो घर ।
साथीहरुले ममीलाई भनिदिएछन्, ‘अन्टी ! खै के भयो रेखालाई ? मुर्छा परेर रुदै छिन् ।’
ममी हतारिँदै आउनुभयो । मेरो स्कटभरि लागेको रगत देख्नुभयो । आत्तिनुभयो कतै चोटपटक लाग्यो कि भनेर ।
ममीले मलाई सोध्नुभयो, ‘कतै चोटपटक लाग्यो ?’
मैले टाउको हल्लाएँ । चोटपटक लागेको छैन भन्ने सङ्केत गरे ।
ममीले ड्रेसको तल्लो भागभरि रगत लागेको देख्नुभयो एकछिन त अलमल्ल हुनुभयो, कहाँबाट रगत बग्यो ?
मलाई घर लिएर आउनुभयो । स्कट उचालेर निरीक्षण गर्नुभयो । कहीँ चोटपटक लागेको छैन, पेन्टी भने लपक्क भिजेको !
बल्ल ममीले झल्यास हुदै भन्नुभयो, ‘छोरी ! तरुनी भयौ ।’
मैले रुदै भनेँ, ‘के हो तरुनी ?’
ममीले भन्नुभयो, ‘मजस्तै नछुने भएको हो ।’
बल्ल मलाई थाहा भयो, यस्तो हुँदो रहेछ नछुने भनेको, मलाई अझै रmन मन लाग्यो । धीत फुकाएर रोएँ । म रोएको देखेर ममी पनि मसँगै रmनुभयो । केके नै भएजस साथीहरु पनि रोए ।
सबै मधेसी छरछिमेकी । ममीले मलाई लिएर जानुभयो ।
र छिमेकी बुधनको घरमा राखिदिनुभयो । आफ्नो घरको धुरी हेर्न नहुने नियम, त्यसैले छिमेकीको घरमा गुप्तबास राखिएक थियो ।
म रुदारुदा व्याकुल भएँ । छिमेकी लुतन अन्टी आइन् ।
हिन्दीमा मलाई सम्झाइन् ।
‘बेटा, तेरा फूल फुला है । प्रकृति के नियम यही है । यह गलत काम नहीं है । यह सब के जीवन मे होगा । अच्छी बात है । यह तो होना ही चाहिये । प्रकृति ने तेरे को पूर्णता दे दिया । रजस्वला भगवान् के देन है । यही नहीं होगा तो हिंजडा बनेगी । मत रो, बेटा ! नारी के रजस्वला से ही सृष्टि चलेगा । यह बुरी नहीं है । अनिवार्य है । हमलोक भी माँ के रजस्वला से पैदा हुए हैं !’ मलाई मुसाद लुतन अन्टीले सम्झाइन् । म समुद्रको गहिरो भागजस्तै शान्त भएँ ।
एघार दिनसम्म गुप्तबास बसेँ । कुनै पनि पुरुषको अनुहार हेर्न नहुने । सूर्यनाराणको प्रकाश देख्न नहुन झ्यालढोका बन्द । अँध्यारोे कोठामा अपराध गरेको बन्दीजसरी राखियो ।
केटी साथीहरु भेट्न आउँथे । अलग्गै बसेर गफ गर्थे । अमिलो–पिरो लिएर आउँथे । मिलेर खान्थ्यौँ । अछूत भएकी म । अरुलाई छुन बन्देज थियो । मुस्किलले पलपल बिते अन्धकारमा तड्पिँदै । एक किसिमको ठूलो सजाय हुँदोरहेछ । एकातिर पेट दुखिरहेछ, तल्लो पेट झर्ला जसरी । पछिल्लो भागमा पनि खस्लाजस्तो दुखाइ । अर्कातिर रगतको धारो बगिरहेछ । बगिरहेको रगत सम्हाल्नै नसकिने । कपडा– बिस्ताराभरि रगतै रगत ।
अबोधपनमै के आइलाग्यो ! साथीहरु बाहिर उफ्रिरहेका, खेलिरहेका छन्, म भने बन्दीजसरी भित्र बसेकी छु । जबर्जस्ती थुनिएकी छु । सम्झेर उथलपुथल भएँ । आजाद सुगालाई पिँजडामा थुनेको जस्तो तड्पिएँ, छट्पटाएँ । सबै नियमहरु तोड्न मन लाग्यो । समाजका अन्धविश्वास भताभुङ्ग पारुँ जस्तो भयो । स्वतन्त्र भएर साथीहरुसँग खेल्न मन लाग्यो ।
त्यति सजिलो थिएन जरो गाडेर बसेको कुरीति उखेल्न ।
झ्यालखानाभन्दा कडा नियम, अँध्यारो कोठामा तड्पिरहेँ ।
नजरबन्दमा अतालिएँ । एघार दिन हजारौँ वर्ष लाग्यो ।
छोरी भएकीले सजाय सुरु भयो ।
एघार दिनमा निस्किएँ गुप्तबासबाट नुहाइधुवाइ गरी नयाँ कपडा फेरेर । सूर्यनारायणलाई अर्घ चढाएँ । बल्ल सूर्यको प्रकाशसँग साक्षात् भएँ । तेजिलो सूर्यमा प्रत्यक्ष भएँ । सूर्यलाई प्रणाम गरेँ । यसरी मैले नजरबन्द तोडेँ ।
कल्पना खरेल । साहित्यकार