कोभिड १९ को संक्रमण दर घटेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.समीरकुमार अधिकरीले सूचना जारी गरी संक्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताए । यस अघिसम्म मास्क प्रयोग अनिवार्य थियो ।
मन्त्रालयले सङक्रमण दर न्यून भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड १९ को परीक्षण गरेको र कोभिड १९ को विरुद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको समेत बताए । उनले अब कोभिड–१९ को कडाइको रूपमा मापदण्ड पालना गर्नुपर्ने नियमलाई सहज गर्दै अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नपर्ने जानकारी दिए ।
मन्त्रालयले कोभिड १९ को संक्रमण दर र अस्पतालमा भर्ना दरमा उल्लेखनीय कमी आएको र अधिकांश मानिसले कोभिड १९ को पूर्णमात्रा खोप लगाइसकेको अवस्था र छिमेकी मुलुक भारतमा पनि कोभिड १९ को संक्रमण दर न्यून रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड १९ परीक्षण र कोभिड १९ विरुद्धको खोप लगाएको प्रमाणपत्र चाहिने व्यवस्था हटाएको हो ।
मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तत्कालिन निर्देशक डा. चुमनलाल दास संयोजकत्वमा गठित विज्ञ टोलीले अर्को सूचना नभएसम्मका लागि कोरोना परीक्षण र खोप लगाएको प्रमाणपत्र नचाहिने सिफारिस गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका बिरामीलाई नियमित निगरानी र जोखिममा रहेका शंकास्पद यात्रुको ‘स्क्रिनिङ’ भने गर्ने जनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं