प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चार दिने औपचारिक भ्रमणमा छन् । भ्रमणमा प्रधानमन्त्रीका साथमा अर्थ, परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, मुख्यसचिव एवं सचिवहरूसहित उद्योगी, व्यवसायीहरूको सहभागिता छ ।
भ्रमणका क्रममा नेपाल र भारतबीच आर्थिक सहकार्यका विविध विषयमा समझदारीसमेत भएको छ । सरकारले ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारण लाइन निर्माण, अन्तरदेशीय भुक्तानी, नेपालमा आर्थिक पूर्वाधार निर्माण, पारवहन सन्धि नवीकरण लगायतलाई मुख्य उपलब्धि मानेको छ ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणमा केन्द्रित रहेर भ्रमण दलमा सहभागी अर्थमन्त्री डा प्रकाशशरण महतसँग राष्ट्रिय समाचार समितिका विशेष समाचारदाता रमेश लम्सालले भारतको इन्दौरमा गरेको कुराकानीको सम्पादित अंश :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण दलमा यहाँ पनि सहभागी हुनुहुन्छ । प्रधानमन्त्रीको यस भ्रमणलाई यसलाई कसरी लिनुभएको, हामी कति सफल रह्यौँ ?
भ्रमण अन्यन्तै सौहार्दपूर्ण र उपलब्धिमूलक रह्यो । नयाँ दिल्ली र मध्यप्रदेशमा अत्यन्त ठूलो सौहार्दता र स्वागत भयो ।
भ्रमणका क्रममा नेपालले उठाउँदै आएको ऊर्जा व्यापारका विषयमा प्रगति भएको देखिन्छ, यसलाई कसरी हेर्नुभएको छ ?
ऊर्जाका क्षेत्रमा महत्वपूर्ण समझदारी भएको छ । खास गरेर दीर्घकालमा १० हजार मेगावाटसम्म विद्युत् भारतले किन्ने समझादरी भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले पनि संयुक्त पत्रकार सम्मेलनमा बोल्नुभएको छ ।
यसले नेपालको ऊर्जा विकास र समग्र अर्थतन्त्रलाई चलायमान गर्न ठूलो मद्दत गर्छ । भोलिका दिनमा व्यापार घाटा कम गर्न विद्युत् व्यापार कोशेढुङ्गा सावित हुनेछ । अहिले नेपालको जलविद्युत् क्षेत्रमा लगानी बढिरहेको छ, भारतले पनि दुई ठूला आयोजनामा लगानी गर्ने समझदारी भएको छ ।
फुकोट कर्णाली र तल्लो अरुणमा लगानी गर्ने निर्णय भएको छ । यसबाट विद्युतको उत्पादन बढ्ने र सँगसँगै बजार पनि सुनिश्चित हुनेछ । भोलिका दिनमा विद्युतको निर्यातबाट ठूलो विदेशी मुद्रा आर्जन गर्ने र व्यापार घाटा कम गर्ने ठूलो सम्भावना छ ।
सँगसँगै आन्तरिक खपत बढाएर, विद्युतीय सवारीसाधन, विद्युतीय चुलो उपयोग गरेर हरित अर्थतन्त्रलाई बढावा दिन र आयात प्रतिस्थापन गर्ने र विद्युतको निर्यात बढाउने दुवैमार्फतबाट व्यापार घाटा कम गर्न ठूलो मद्दत हुन्छ । यस्तै बङ्गलादेशसँग पनि अहिले ५० मेगावाट निर्यात गर्ने सुरुआत भएको छ । त्यहाँ पनि विद्युत् व्यापारको ढोका खोलेको छ ।
भ्रमणका क्रममा ‘केनेक्टिभिटी’का अन्य क्षेत्रमा पनि समझदारीमा पुगेका छौँ, यसबाट हामीले अपेक्षा गरेका विषय भारतका तर्फबाट सम्बोधन भयो भन्न सकिन्छ ?
एयर ‘कनेक्टिभिजी’मा हामीले स्पष्ट कुरा राखेका छौँ । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थलमा भारतबाट कनेक्टिभिटी बढोस् भनेका छौँ । गौतमबुद्ध विमानस्थलमा एयर रुटका कुरा भएको छ । लो अल्टिच्यूडमा उडान गर्ने साना विमानलाई आउन दिनेमा उहाँहरू सकारात्मक देखिनुभएको छ । हाइ अल्टिच्यूडको पनि रुट प्राप्त हुन्छ भन्ने हामीलाई विश्वास छ ।
भारतीय पक्षको चासो के थियो ? एयर रुटका सम्बन्धमा किन सहमति भएन ?
यस सम्बन्धमा निर्णयमा पुग्न सकिएन, तर लो अल्टिच्यूडमा उहाँहरू तयार भइसक्नुभएको छ, अन्ततः उहाँहरू हाइ अल्टिच्यूड पनि हुन्छ । एयर कनेक्टिभिटी समझदारी थप ठाउँबाट हुने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग सहज हुनेमा सहमति बन्छ । यसका आधार भ्रमणले तयार गरेको छ ।
सरकारले राष्ट्रिय हितलाई ध्यानमा राखेर भारतसँग महत्वपूर्ण समझदारी गरिरहेको छ, तर काठमाडौँले फरक दृष्टिकोणले हेरिरहेको देखिन्छ, यसलाई कसरी लिने ?
नकारात्मक कोणबाट हेर्ने प्रवृत्ति पनि छन् । तर हामीले कामबाट नै ती प्रवृत्तिलाई निरूत्साहित गर्न सक्छौँ । हरेक कुरालाई शङ्काको दृष्टिकोणबाट मात्रै हेर्नु उपयुक्त हुँदैन । खासगरी भारतसँगको सम्बन्धलाई लिएर बढी शङ्का गर्ने प्रचलन छ । तर नेपाल र हामीले राष्ट्रिय स्वार्थ र आवश्यकतालाई मध्यजनर राखेर जुनसुकै देशसँग सम्बन्ध राख्ने हो ।
भारतसँगको सवालमा पनि नेपालको आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर सम्बन्ध विकास गर्ने हो । त्यहीअनुसार भएको छ । हरेक विषयलाई शङ्काको कोणबाट मात्र हेर्न हुँदैन । सीमामा देखिएको समस्याका विषयमा पनि प्रधानमन्त्री मोदी स्वयंले संयुक्त पत्रकार सम्मेलनमा स्पष्ट ढङ्गबाट समाधान गर्छौँ भन्नुभएको छ । त्यसले पनि थप विश्वास पैदा भएको छ ।
हामीले अपेक्षा गरेका आधारमा भ्रमण सफल रह्यो भन्ने हो ?
भ्रमण एकदमै सफल र उपलब्धिमूलक रह्यो ।
यहाँले भर्खंरै बजेट प्रस्तुत गर्नुभएको छ, बजेटमाथि अनेकखालका टिप्पणी भइरहेका छन्, यसलाई कसरी लिनुभएको छ ?
बजेटका सम्बन्धमा हरेक खालका टिप्पणी हुने गर्छ । शेयर मार्केटमा के गर्यो भन्ने आइरहेको छ । त्यसमा हामीले सेयरमा लागनीकर्तालाई फेरि आयकरमा कर लगाउने भनेको छैन । शेयर कारोबारलाई नै व्यवसाय बनाउनेका लागि ‘रिपोर्ट’ गर्नुहोस्, त्यसमा अझ छुट हुन्छ भनेका हौँ ।
शेयर बजारमा लगानी गरौँ, आम्दानी होला भनेर लगानी गर्नुभएको कसैलाई पनि आयकरको दायरामा ल्याइएको छैन भन्ने भ्रम हो । अन्य करका दर पनि हामीले व्यापारिक घरानालाई फाइदा दिने, कसैलाई बेफाइदा गर्नेभन्दा पनि समग्र अर्थतन्त्रलाई चलायमान गराउने गरेर मात्रै तय गरेका हौँ ।
विद्युतीय सवारीमा कम क्षमता भएकालाई एउटा, बढी क्षमता भएकालाई अलिकति बढी, अझ बढी क्षमता भएकालाई झन् बढी त्यसरी गरेका छौँ, कसैलाई पनि अप्ठ्यारो पार्ने गरेर र विद्युतीय सवारीसाधनलाई निरूत्साहित गर्ने गरी केही भएको छैन ।
डा प्रकाशशरण महत । अर्थमन्त्री