सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीको शिशु मृत्युदर छ दशमलव चार प्रतिशत

राष्ट्रिय जनगणना २०७८ का अनुसार कर्णाली प्रदेशमा शिशु मृत्युदर छ दशमलव चार प्रतिशत रहेको देखिएको छ ।

तीन लाख ५२ हजार ९८३ विवाहित महिलाले हालसम्म आठ लाख ५२ हजार ३२२ बच्चा जन्माएका छन् । तीमध्ये छ दशमलव चार प्रतिशत अर्थात् ५४ हजार ५४८ शिशुको मृत्यु भएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा बालिकाभन्दा बालक धेरै छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७–०७८ मा मात्रै २१८ शिशुको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो तीन वर्षमा पाँच वर्षमुनिका ५८६ बालबालिकाको मृत्यु भएको छ ।

यसैबीच, राष्ट्रिय जनगणनाको तथ्यांकमा पछिल्लो समय कर्णाली प्रदेशमा छोरीभन्दा छोराको धेरै जन्म भएको देखिन्छ । गत वर्षसम्म आठ लाख ५२ हजार ३५२ बच्चा जन्मिएकामा ५२ दशमलव दुई प्रतिशत अर्थात् चार लाख ४४ हजार ९१२ छोराको जन्म भएको छ ।

त्यस्तै, ४७ दशमलव नौ प्रतिशत अर्थात् चार लाख आठ हजार २६३ छोरीको जन्म भएको छ । यहाँका महिलाहरू अझै पनि जोखिम मोलेर घरमै सुत्केरी हुनाले मातृ तथा शिशु मृत्युदर नघटेको सरोकारवालाहरू बताउँछन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार १३:३०