सूचनाको शक्ति - The Power Of Information

        

गाउँपालिकाको आन्तरिक आयस्रोतको माध्यम बन्दै जलविरे झरना

चितवनमा बिहीबार र शुक्रबार तापक्रम ३९ डिग्रीसम्म मापन गरिएको छ । चर्को घामका कारण मानिसलाई घर बाहिर निस्कन कठिन छ । बढ्दो गर्मी छल्न यहाँका स्थानीयहरु इच्छाकामना गाउँपालिका–६ जलविरेस्थित लामो झरनामा जान थालेका छन् । गर्मी बढेसँगै झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने जलविरेको १०२ मिटरभन्दा लामा झरना नारायणगढबाट मुग्लिनतर्फ २७ किमी र मुग्लिनबाट नारायणगढतर्फ सात किमीको दूरीमा पर्छ । सडकबाट एक किमी उकालो बाटो हिँडेपछि झरनामा पुगिन्छ । हिँडेरै र गाडीबाट पनि झरनासम्म पुग्न सकिन्छ ।

वीरगञ्जबाट आएकी शिला महतोे झरनाको चिसो पानीमा रम्दै पौडी खेल्न पाउँदा आनन्दको महसुस भएको बताइन् । उनले भनिन्, ‘पहिलोपटक आएकी हुँ, यहाँको झरना देखेर मन लोभिएको छ,’ सामाजिक सञ्जालमार्फत झरना बारेमा थाहा पाएर साथीहरुसँग घुम्न आएको उनले सुनाइन् ।

विसं २०६९ देखि लामो झरनामा पर्यटकको आगमन बढ्न थालेको हो । झरना अवलोकनका लागि चितवन, धादिङ, गोरखा, तनहुँ, काठमाडौँ, नवलपरासी, नुवाकोट, गोरखा, तनहुँ, कास्की, मकवानपुर, पर्सा लगायतका जिल्लाबाट पर्यटक आउँछन् । नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गर्ने लामो दूरीका सवारीसाधन पनि यहाँ रोकिएर झरना अवलोकन गर्न पुग्ने गर्छन् ।

गत वर्षहरु भन्दा यस वर्ष पर्यटकको आगमन बढेको लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले बताए । ‘यहाँ पौडी खेल्न र नुहाउन आउनेका सङ्ख्या बढ्दो छ,’ उनले भने, ‘बिदाको दिन र शनिबार औसतमा पाँच सय र अन्य दिन करिब दुई सय पर्यटक यहाँ आउने गरेका छन् ।’

झरनामा क्यानोनिङ, क्लाइम्बिङ, स्वीमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङका लागि पर्यटक आउने गरेको उनले बताए । झरना अवलोकनका लागि इच्छाकामनाका बासिन्दाले प्रतिव्यक्ति रु २५ र अन्य स्वदेशीले प्रतिव्यक्ति रु ५० प्रवेश शुल्क तिर्नुपर्छ । विदेशीले प्रतिव्यक्ति रु १०० तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रवेश शुल्कबाट प्राप्त भएको सबै रकम इच्छाकामना गाउँपालिकाले लिने गरेको छ । झरना पुग्ने सडक निर्माणसँगै शौचालय, चेन्जिङ रुम र तलाउ निर्माण गरिएको छ । अन्य भौतिक संरचना र झरनाको सौन्दर्यकरणका काम पनि गर्ने तयारी गरिएको छ । ‘झरनाको प्राकृतिकस्वरुप नबिग्रने गरी जिपलाइन निर्माणको तयारी गरेका छौँ,’ गुरुङले भने ।

उनले पर्यटकीय गतिविधि बढाउने अन्य संरचना पनि निर्माण गर्ने योजनामा रहेको बताए । यहाँ झरनाकै कारण होटल बढेका छन् भने व्यवसाय पनि बढेको गुरुङ बताउँछन् । इच्छाकामना गाँउपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जलविरे झरना पर्यटकको रोजाइको गन्तव्य बनेको बताए ।

उनले प्रदेश सरकारको सहयोगमा सिँढी, रेलिङ र पौडी पोखरी निर्माण गरिएको जानकारी दिए । ‘यो झरना गाउँपालिकाको आन्तरिक आयस्रोतको माध्यम बनेको छ,’ उनले भने, ‘वार्षिक रु २५ लाखसम्म आम्दानी हुने गरेको छ ।’ अध्यक्ष गुरुङले यहाँ पर्यटकलाई केही समय रहने वतावरण तयार गर्ने गरी काम भइरहेको बताए ।

उनले कर्मचारी राखेर दैनिक झरना वरपरको सरसफाइ गरिरहेको जानकारी दिए । आगामी आर्थिक वर्षमा नजिकै रहेको गाउँहरुमा पर्यटकलाई लैजाने र त्यही बाटो हुँदै इच्छाकामना मन्दिर पुर्याउने योजना गाउँपालिकाले बनाएको अध्यक्ष गुरुङले बताए ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार १२:५५