जीप दुर्घटनामा परी सुनकोशीमा बेपत्ता भएका सिटीइभिटीका कर्मचारी अझै भेटिएका छैनन् । शुक्रबार खोटाङ जाँदै गरेको सिटिइभिटीका कर्मचारी सवार जिप सुनकोशीमा खस्दा तीन जना बेपत्ता भएका थिए ।
शसस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीसहितको टोलीले शुक्रबार अबेर सम्म खाजी गर्दा नभेटिएपछि स्थगित गरिएको खोजीकार्य आज बिहानैबाट सुरू गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिए ।
अहिले सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीसहित २४ जनाको टोली परिचालन गरिएको उनले जानकारी दिए । शुक्रबार बिहान करिब साढे ११ बजे सिटिइभिटीको कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।
गाडीमा सवार चार जनामध्ये चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी पौडी खेलेर बाहिर निस्कन सफल भएका थिए । घाइते उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल बेपत्ता छन् ।
सत्यपाटी संवाददाता । खोटाङ