सूचनाको शक्ति - The Power Of Information

        

बिहेअघि १२ पास गर्ने किशोरीलाई २० हजार रुपैयाँ !

कैलाश गाउँपालिकाले विवाह अगाडि १२ पास गरेका छात्रालाई २० हजार नगद हस्तान्तरण गरेको छ । गाउँपालिकाले बिहीबार कार्यक्रम गरी चेली प्रोत्साहन कार्यक्रमअन्तर्गत छ चेलीलाई सम्मान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पालिकाको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रमअन्तर्गत प्रोत्साहन र सम्मान गरेको जानकारी दिए । उनका अनुसार पहिलो चरणमा कैलाश–६ की संगीता ढुंगाना, प्रतिभा अर्याल र लक्ष्मी श्रेष्ठ, कैलाश–१० की सरुया प्रजा र उर्मिला थिङ, कैलाश–२ की लक्ष्मी मुक्तानलाई नगदसहित सम्मान गरिएको हो ।

गाउँपालिका अध्यक्ष मुक्तानले विवाहअघि कम्तीमा पनि १० जोड २ पास गर्नुपर्छ र २० वर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखिएको बताए । देशभरका स्थानीय तहमध्ये पृथक कार्यक्रमको शुरु गरेको उनको भनाइ छ । ‘गाउँघरमा छोरीलाई बालविवाह गर्ने, पढाइबाट वञ्चित गर्ने चलन अझै छ,’ उनले भने, ‘यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने विश्वास लिएका छौँ ।’

सम्मानित छात्रा सरुयाले गाउँपालिकाले चेली प्रोत्साहन कार्यक्रममार्फत सम्मान गरेकोमा आफूलाई उत्साह मिलेको र सामाजिक समस्याको रूपमा रहेको बालविवाह, विद्यालय नजानेजस्ता समस्या समाधानमा लाग्न ऊर्जा मिलेको बताइन् । संगीताले प्राप्त रकमले आगामी शिक्षाका लागि सहयोग पुग्ने प्रतिक्रिया दिइन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार ०८:५१