सूचनाको शक्ति - The Power Of Information

        

जंगली च्याउ खाँदा आमाछोराको मृत्यु

धनकुटामा जंगली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ । शहीदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकी धरान रेफर गरिएका उनीहरूको उपचारका क्रममा शुक्रबार बिहान आमाको मृत्यु भएको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए । सिकिस्त रहेका उनीका छोराको पनि आईसीयू कक्षमा उपचारका क्रममा बेलुकी मृत्यु भएको छिमेकी भोगेन्द्र राईले जानकारी दिए ।

प्रहरी सञ्चार शाखाका अनुसार मृतकले यही जेठ १५ गते धनकुटा–७ मा रहेको चुलिवन जंगलबाट जंगली च्याउ ल्याएर खाएका थिए । च्याउ खाएपछि बिरामी परेका उनीहरू जिल्ला अस्पताल धनकुटामा उपचारका लागि भर्ना भएका थिए । जिल्लामा उपचार हुन नसकेपछि १८ गते उनीहरूलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको थियो ।

उपचारमा संलग्न जिल्ला अस्पतालका डा.डुराण्ड सिंह खड्काका अनुसार पखला लाग्ने र बान्ता हुने समस्या लिएर बुबाआमा र छोरा अस्पताल आएका थिए । उपचारपछि बुबा ठीक भएका थिए भने आमाछोराको स्वास्थ्यमा सुधार भइरहेको थियो । अचानक आमाको रक्तचाप कम भई बेहोशीको अवस्था छाएको र छोराको मिर्गौलामा समस्या देखापरेको थियो । त्यसपछि भने थप उपचारका लागि धरान रेफर गरिएको डा. खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार ०८:४७