सूचनाको शक्ति - The Power Of Information

        

भारत भ्रमण सकेर आज अपराह्न स्वदेश फर्कँदै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गत जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड आज अपराह्न ४ बजे स्वदेश फर्कन लागेका हुन् ।

भारत भ्रमणको क्रममा पहिलो दिन प्रधानमन्त्री प्रचण्डले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरे भने सोही दिन नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए ।

भोलिपल्ट जेठ १८ गते प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । सोही दिन नेपाल–भारतका बिचमा ७ बुँदे सहमतिसमेत भएको थियो । मुख्यतः सो सहमतिमा नेपालको जलबिद्युत भारतमा निर्यात गर्ने विषयलाई प्राथमिकता दिएको थियो ।

भारतसँग भएको सहमति अनुसार १० वर्षमा भारतले १० हजार मेगावाट बिजुली खरिद गर्ने जनाएको छ । भारतीय प्रधानमन्त्रीले सीमा विवादका समाधान गर्ने जनाएका छन् । पर्सिपल्ट हिजो शुक्रबार जेठ १९ गते महाराष्ट्रको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा उनी पुजाअर्चना गर्न पुगेका थिए ।

भारतका १२ ज्योर्तिलिङ मध्ये एक महाकालेश्वर मन्दिरमा पूजा अर्चना गरेका प्रचण्डले नेपालबाट लगिएको १०८ केजी रुद्राक्ष तथा ५१ हजार रुपैयाँ दान गरे । उनले सो क्रममा मन्दिरभित्र पूजापाठसहित श्रीमती सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दै आरतीसमेत गरेका थिए । दिउँसो इन्दौर देवगुराडिया ट्रेचिङ ग्राउन्डमा स्थापित एसियाको सबैभन्दा ठुलो नेप्रा र सिएनजी प्लान्टको अवलोकन गरेका थिए ।

आज जेठ २० गते बिहान महाराष्ट्रस्थित टाटा कन्सेल्टेन्सी सर्भिसको भ्रमण गरे पछि विज्ञान प्रविधिसम्बन्धी विश्व प्रसिद्ध संस्था इन्फोसिसको भ्रमण गर्ने र स्पेशल इकोनोमजी जोनको भ्रमणको तालिका छ । प्रधानमन्त्री प्रचण्डले मध्याह्न १२ बजे आफ्नो औपचारिक कार्यक्रम सम्पन्न गर्नेछन् । उनी अपराह्न ४ बजे नेपाल एअरलाइन्सको विमानमार्फत मुम्बईबाट स्वदेश फर्कनेछन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार ०८:४२