सूचनाको शक्ति - The Power Of Information

        

ओडिसामा रेल दुर्घटना हुँदा २३७ को निधन, ९०० भन्दा बढी घाइते

भारतको आडिसामा रेल दुर्घटना हुँदा कम्तीमा २३७ जनाको निधन भएको छ । ओडिसाको बालासोर नजिकै भएको उक्त दुर्घटनामा परी ९०० जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । घटना शुक्रबार राति भएको थियो ।

बीबीसीका अनुसार हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएर दुर्घटना भएको हो । अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर–हावडा सुपरफास्ट रेल पनि ठोक्किएको समाचारमा उल्लेख छ । भारतका रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् ।

उनले मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । घाइतेको उद्धारका लागि २०० भन्दा बढी एम्बुलेन्स परिचालन गरिएको ओडिसाको प्रमुख सचिव प्रदीप जेनाले बताएका छन् ।

उक्त घटना भारतमा भएका प्रमुख रेल दुर्घटनामध्येको एक भएको समाचारमा जनाइएको छ । स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्न सक्ने पनि भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार ०८:२७