सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

आज कहाँ-कहाँ हुँदैछ वर्षा, तराईमा पाँच दिनसम्म ‘लू’

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको अधिकांश भू–भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहनुका साथै कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । अत्यधिक गर्मी तथा मेघगर्जन र चट्याङबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ ।

यसैबीच, तराई भूभागमा आगामी पाँच दिनसम्म लू लाग्न सक्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो ‘तातो दिन तथा लू सम्बन्धी बुलेटिन’ सम्बन्धी विशेष बुलेटिन जारी गरेर उक्त जानकारी दिएको हो । आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भूभागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने महाशाखाले जनाएको छ ।

साथै पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहन अनुरोध गरिएको छ । तातो हावा तथा लू बाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्छ ।

तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी एक्पोज नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार ०८:२०