सूचनाको शक्ति - The Power Of Information

        

दरबार हत्याकाण्ड : २२ वर्ष वित्यो, तथ्य रहस्यकै गर्भमा

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते बेलुकी पारिवारिक जमघटका क्रममा राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो । घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भयो ।

राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, अधिराजकुमारी शान्ति, अधिराजकुमारी शारदा र कुमार खड्गविक्रम शाह पनि मारिए । हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले घटनाका लागि तत्कालीन युवराज दीपेन्द्रलाई दोषी रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

समितिले दीपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरेको र अन्त्यमा आफैँलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर युवराजले परिवार सबै सदस्यलाई मारेर आत्महत्या गरेको कुरा अहिले धेरै मानिसले पत्याएका छैनन् । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।

उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । उनको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन सकेनन् । २०६२–०६३ को जनआन्दोलनमार्फत पुनः स्थापित संसद्ले राजाका सम्पूर्ण अधिकार खोस्यो । २०६५ सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्र समाप्त भयो ।

२०६५ जेठ २९ गते पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी छाडेर नागार्जुन पुगेपछि राजपरिवारको कार्यालय र निजी निवासको रूपमा रहेको नारायणहिटी सरकारले जिम्मा लिएको थियो । २०६५ फागुन १५ देखि सरकारले नारायणहिटी संग्रहालय सर्वसाधारणको लागि खुला गर्यो । हत्याकाण्ड भएको त्रिभुवन सदनको बिलियार्ड बैठक हल लगायत अधिकांश संरचना निर्माण भएर सर्वसाधारणको लागि खुला गरिएको छ । तर, राजदरबार हत्याकाण्डको २१ वर्ष पूरा हुँदासम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार ०८:१०