सूचनाको शक्ति - The Power Of Information

        

अत्यधिक गर्मीले बाँकेसहित तराईको जनजीवन कष्टकर

 विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण बाँकेसहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको छ । पश्चिमी वायुको प्रभावले चलेको तातो हावा र लामो समयदेखि वर्षा नभएका कारण गर्मी अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको हो ।

विगत एक सातादेखि दिउँसो ४० डिग्री सेल्सियससम्म तापक्रम बढ्ने गरेकाले बजारमा सर्वसाधारणको चहलपहल ह्वात्तै घटेको नेपालगञ्जका व्यापारी सुजितकुमार अग्रवालले बताए । यस्तै अत्यधिक गर्मीका कारण जिल्लास्थित अधिकांश सरकारी कार्यालयमा सेवाग्राही घटेका छन् ।

अचानक बढेको तापक्रमका कारण जिल्लामा बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । गर्मीका कारण झाडापखाला, निमोनिया, भाइरल ज्वरो, पेट दुख्ने, टाउको दुख्नेलगायतका समस्याबाट पीडित बिरामी बढेको भेरी अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार अहिले दैनिक ६ सयदेखि आठ सयसम्म बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । गर्मीका कारण सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा तथा मजदुरी गर्ने बढी प्रभावित भएका छन् ।

दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने तातो हावाले कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको चिकित्सकको भनाइ छ । गर्मीका कारण बजारमा चिसो पेयपदार्थ, फलफूलको जुस र चिसो पानीको बिक्री बढेको व्यापारी बताउँछन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १७:२४