सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण

प्रधानमन्त्री प्रचण्डले दिल्लीमा उठाए सीमा विवादको मुद्दा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘सबै मुद्दाहरु चाहे सीमाको होस् या अरु केही, सबैको समाधान गर्छौं ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सीमा विवादको मुद्दा उठाएका छन् । प्रचण्डले संयुक्त पत्रकार सम्मेलनका क्रममा सीमा विवादको मुद्दा उठाएका हुन् ।

आज हैदरावाद हाउसमा भएको द्वीपक्षीय बैठकमा प्रचण्डले मोदीलाई सीमा समस्या समाधानका लागि छलफलमा आउन आग्रह गरेका थिए । ‘मैले प्रधानमन्त्री मोदीलाई द्वीपक्षीय वार्ताका माध्यमबाट सीमा समस्या समाधानका लागि आग्रह गरेको छु,’ प्रचण्डले भने ।

भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूभागलाई आफ्नो नक्सामा राखेपछि नेपालले पनि नयाँ नक्सा जारी गरेको थियो । यसबारेमा दुवे देशबिच संवाद हुन सकेको छैन । त्यसलैले पनि प्रचण्डलाई मोदीसँग सीमा विवादको विषय उठाउन दबाब थियो ।

यता, भारतको नयाँ संसदमा पनि लुम्बिनी र कपिलवस्तु सहितको ‘अखण्ड भारत’को नक्सा राखिएको विषयमा पनि प्रश्न उठाउन प्रचण्डलाई दबाब थियो । सीमा विवादबारे भारत मौन रहँदा नेपाली पक्षमाथि प्रश्न उठ्दै आइरहेको थियो ।

त्यसैले आजको द्वीपक्षीय बैठकमा प्रचण्डले मोदीलाई सीमा विवादबारे छलफलमा आउन भनेका हुन् । प्रचण्डको आग्रह मोदीले पनि स्वीकार गरेका छन् । मोदीले सीमा विवादसँगै अन्य सबै विवादबारे छलफलका लागि तयार रहेको बताएका छन् । ‘सबै मुद्दाहरु चाहे सीमाको होस् या अरु केही, सबैको समाधान गर्छौं,’ मोदीले भने ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १५:०५