सूचनाको शक्ति - The Power Of Information

        

मालगाडी रोकेर माल तान्ने बर्दीधारी छानबिनमा

हरेक मालवाहक ट्रकलाई व्यस्तबीच सडकमा रोकेर माल उठाउने धन्दामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका डिएसपी दिनेश बस्नेतमाथि छानबिन शुरु भएको छ । उनी सिन्धुलीमा कार्यरत छन् ।

बस्नेतले पूर्वी र मधेश प्रदेशबाट आएका प्रत्येक मालवाहक ट्रकलाई रोकेर दुःख दिने र माल झार्ने गर्न थालेपछि उनीविरुद्ध हेलो सरकारमा उजुरी परेको थियो । भिमान र सिन्धुली बजारको बीचमा ट्रक रोकेर दाम असुल्ने बस्नेत यसअघि काँकडभिट्टा नाकामा थिए ।

उनैबाट पीडित ट्रक चालक र व्यवसायीले हेलो सरकारमा उजुरी दिएका हुन् । सो उजुरी सशस्त्र प्रहरीको हेडक्वार्टरमा फरवार्ड गरिएपछि कार्यविभागका प्रमुख एसपी गंगाराम श्रेष्ठको नेतृत्वमा एक छानबिन टोली खटाइएको छ ।

स्रोतका अनुसार अहिलेका आइजीपीलाई गलत रिपोर्ट गर्न सिपालु आर्थिक प्रशासनका प्रमुखकै होम ज्ञवालीकै कारण बस्नेत जस्ता छाडाको मनोबल बढेको हो । ज्ञवालीका ब्याची कोही डिएसपी मात्रै छन् भने केही गणप्रमुख भएकाले उनीहरूबारे उनैले सबै ठीक छ हजुर भनेर ढाकछोप गर्ने गरेका छन् ।

यसबीच, अनुगमन र निरीक्षणको काम रोकिएको अवस्था छ । त्यसैले बीच सडकमा सवारी साधन रोकेर पैसा असुल्ने धन्दामा सशस्त्र प्रहरीका केही अधिकृत अग्रसर भएको दाबी गरिएको छ । ज्ञवालीले आफ्ना ब्याचीलाई गुन लगाएबापत असुली धन्दा पनि चलाएको दाबी स्रोतले गरेको छ ।

ज्ञवालीले ठीक छ भनेपछि आइजीपीको सचिवालयले पनि अनुगमन र निरीक्षणको लागि टोली खटाउने काम रोकेको र गइहाले पनि अघि नै खबर पुग्ने गरेको बताइन्छ । असुलीको धन्दा बढेको वीरगञ्ज, धनुषा, झापा, पश्चिम नवलपरासी, बाँके, कैलाली, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, काभ्रे र डोटी, जुम्लालगायत जिल्लामा अनुगमन भएको छैन । यसैकारण रासन खाने र बिदा छाड्ने धन्दा सशस्त्र प्रहरीमा पुनः मौलाएको दाबी गरिएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार ०७:००