सूचनाको शक्ति - The Power Of Information

        

भारतमा के-के गदैछन् प्रधानमन्त्री प्रचण्ड ?

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता आज, ‘महत्त्वपूर्ण सम्झौता’मा हस्ताक्षर

आज बिहान ११ः०५ बजेदेखि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच हैदरावाद हाउसमा द्धिपक्षीय भेटवार्ता हुनेछ ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदी । फाइल तस्वीर

चार दिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । आज बिहान ११ः०५ बजेदेखि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच हैदरावाद हाउसमा द्धिपक्षीय भेटवार्ता हुनेछ ।

भ्रमण–तालिकाअनुसार प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेटवार्ता गरेलगत्तै प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ । लगत्तै सम्झौता पत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ ।

भारतीय समकक्षी मोदीसँग भेट गर्नुअघि प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्ड आज बिहान साढे दश बजे महात्मा गान्धीको समाधिस्थल राजघाट जाने कार्यक्रम रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । जहाँ उनले महात्मा गान्धीप्रति पुश्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीले बिहीबार नै भारतका उपराष्ट्रपति जगदीप धनखड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको छ । प्रचण्डले साँझ होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्नेछन् ।

शुक्रबार भने प्रधानमन्त्री मध्यप्रदेश जानेछन् भने शनिबार त्यहाँबाट दिल्ली आएर स्वदेश फर्किने कार्यक्रम बनाइएको छ । हिजो प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री बनेको पाँच महिनापछि भारत भ्रमणमा निस्किएका प्रचण्डलाई बुधबार दिउँसो दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै उनी बसेको सरदार पटेलमार्गस्थित होटल मौर्यमै डोभाल भेटका लागि पुगेका थिए । डोभाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र मानिन्छन् ।

उनीसँगको भेटवार्तामा विदेश सचिव विनयमोहन क्वात्रा पनि सँगसँगै थिए । यसअघि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीलाई भारतका विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डलाई विभिन्न झाँकी र साँस्कृतिक प्रदर्शनीसहित विमानस्थलमा स्वागत गरिएको थियो ।

प्रचण्डलाई राज्यमन्त्री तहबाट स्वागत भएको भन्दै नेपालमा कतिपयले आलोचना समेत गरेका छन् । भ्रमण टोलीसहित बुधबार भारत पुगेका प्रधानमन्त्री प्रचण्ड चार दिन भारतमा रहनेछन् । चौथो दिन अपराह्न उनी दिल्लीबाट काठमाडौं फर्कने कार्यक्रम रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार ०६:४०