सूचनाको शक्ति - The Power Of Information

        

गर्मीले एक साता विद्यालय बन्द

दुई दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा बिदा दिइएको हो ।

सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले २०८० जेठ १८ गते बिहीबारदेखि २४ गते बुधबारसम्मका लागि बिदा दिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिए । गर्मीका कारण बालबालिकामा विभिन्न किसिमको समस्या हुनबाट जोगाउनका लागि वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिएको उनले बताए ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाले समेत गर्मीका कारण विद्यालयमा बिदा दिएको गाउँपालिका प्रमुख अजमल अख्तर अजादले बताए । गाउँपालिकाले समेत जेठ १८ गते देखि २३ गते मङगलबारसम्मका लागि विद्यालयमा बिदा दिएको उनले जानकारी दिए ।

त्यसैगरी इटहरी उपमहानगरले समेत दुई दिनका लागि बिदा दिने निर्णय गरेको छ । प्रतिकूल मौसमका कारण अत्यधिक गर्मीले पठनपाठनमा असहज स्थिति आएको भन्दै जेठ १८ र १९ गते बिदा दिने निर्णय गरिएको इटहरी उपमहानगर शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले बताए ।

अहिले सञ्चालन भइरहेको परीक्षा सञ्चालनमा कुनै असर नपर्ने गरी बिहीबार र शुक्रबार विद्यालयको पठनपाठन बन्द गर्न उपमहानगरले सबै विद्यालयलाई आग्रह गरेको सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार ०६:२९