सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजारमा उच्च गिरावट

शेयर बजारमा उच्च गिरावट बुधबार पनि जारी रहेको छ ।

बजेट पछिको पहिलो कारोबार मंगलबार ५३ अंकको पहिरो गएको बजारमा बुधबार पनि ३९ अंक बराबरको गिरावट आयो । नेप्से १८ सय ४९ मा आएर थामियो ।

बजेटले लगानीकर्तामा कर सम्बन्धी अन्योल बढाएसँगै बिक्री चापले कारोबार भने सवा २ अर्ब माथि रह्यो । सबै समूह राताम्मे रहँदा उत्पादनमूलक समूहमा सबैभन्दा उच्च साढें ३ प्रतिशत बढीको गिरावट आयो ।

पछिल्ला दिन निरन्तरजसो सकारात्मक सर्किट लाग्दै आएको यूनीलिभरको शेयरमा बुधबार नकारात्मक र्सिर्कट लाग्दा उत्पादनमूलक समूहमा नै धक्का लाग्न पुगेको हो ।

यस्तै, होटल तथा पर्यटन समूह पनि ३ प्रतिशत बढीले ओरालो लाग्यो । बाँकी पनि अधिकांश समूहमा २ प्रतिशतमाथिको कमी आयो । बुधबार नेपाल स्टक एक्सचेन्जमा २ सय ६२ कम्पनीको ८७ लाख ७६ हजार कित्ता शेयर २ अर्ब ३२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

बुधबार २ सय ३ कम्पनीको मूल्य घट्दा जम्मा १६ कम्पनीको बढ्यो । घटेको बजारमा पनि आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले भने १० प्रतिशत कमाउने क्रम जारी रह्यो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार १८:१५