सूचनाको शक्ति - The Power Of Information

        

डुडुवा गाउँपालिकाले बनायो अत्याधुनिक प्रशासनिक भवन

डुडुवा गाउँपालिकाले अत्याधुनिक प्रशासनिक भवन बनाएको छ । उक्त भवनमा कार्यालय स्थान्तरण गरिने भएको छ । भुकम्प प्रतिरोधात्मक लिफ्ट सहितको निर्माण सम्पन्न नयाँ भवनमा स्थान्तरण गर्न थालिएको हो ।

नयाँ भवनमा पुजापाठ गरेर कार्यालय स्थान्तरण गर्न लागिएको अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । भवनले गाउँपालिकाको काम काजमा निकै सहजता उत्पन्न गराउने र सेवाग्राहीलाई अझ बढी गुणस्तरिय सेवा प्रदान गर्नमा मद्दत पुग्ने उनको विश्वास छ । कर्मचारीलाई सेवा प्रवाह गर्नमा सहजता हुने पनि चौधरीले बताएका छन् ।

डुडुवा गाउँपालिका वडा नम्बर ३ बनकट्टीस्थित २० कठ्ठा जमिनमा १३ करोड २६ लाख रुपैयाँको लागतमा अत्याधुनिक कार्यालय भवन निर्माण भएको प्राविधिक शाखा प्रमुख सुरेन्द्र बर्माले बताए ।

उनका अनुसार चार तल्ले भवनमा ५ सय जना क्षमता भएको ठुलो सभागृह, बैठक कक्ष, न्यायिक समितिका लागि इजलास कक्ष, ३२ वटा कार्यालय कोठा, स्टोर कोठा, शौचालय, पर्खाल, ठुला तथा साना सवारी साधनका लागि पार्किङ, प्ले ग्राउण्ड, सेवाग्राहीका लागि प्रतिक्षालय, सुरक्षागार्ड रुम र लिफ्ट सहितको भवन निमार्ण गरिएको छ ।

गाउँपालिकाको भवन अपाङ्गमैत्री, बालमैत्रीसँगै अत्याधुनिक फाउण्टेनको व्यवस्थापन गरिएको छ । रोयल कन्स्ट्रक्सन धनगढीले सम्झौता गरेको अवधिभित्र नै भवन निमार्णको कार्य सम्पन्न गरेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार १८:१०