सूचनाको शक्ति - The Power Of Information

        

अत्याधुनिक बन्दै स्थानीय तहका भवन

बाँकेको डुडुवा गाउँपालिकाले १३ करोड २६ लाखको लागतमा वडा नम्बर ३ को बनकट्टीमा नयाँ आधुनिक भवन निर्माण गरेको छ ।

अत्याधुनिक भवन निर्माण भएपछि अपाङ्गता भएका नागरिक लगायतका आम सेवाग्राहीले सहजरुपमा सेवा प्रवाह प्राप्त गर्ने गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए ।

बाँकेका आठ वटा स्थानीय तहमध्ये नेपालगन्ज उपमहानगरपालिकाको मात्रै पुरानै भवनबाट कार्य सञ्चालन भइरहेको छ । सशस्त्र द्वन्द्वकालमा क्षतिग्रस्त भवन शान्ति प्रक्रियापछि अत्याधुनिक भवन निर्माण गरिएका कारण नयाँ भवन बनाउन आवश्यक छैन ।

तर अन्य स्थानीय तहमा भने भवन निर्माण कार्य जारी छ । बैजनाथ गाउँपालिकाको भवन केही समय पहिले निर्माण सम्पन्न भई सेवा सञ्चालनमा आएको छ । यस्तै, खजुरा गाउँपालिकाको भवन निर्माण भने ढिलाई भएको छ ।

साविकको बागेश्वरी गाविस कार्यालयमा थप केही संरचना बनाएर हाल गाउँपालिकाले काम गरिरहेको छ । जानकी गाउँपालिकाले वडा नं.३ इन्द्रपुरको मानपुरमा अस्थायी संरचनाबाट कार्यालय सञ्चालन गरी नयाँ भवन सोही नजिकै निर्माण गरिरहेको छ ।

कोहलपुर नगरपालिकाले अस्थायी संरचना निर्माण गरी कार्य सञ्चालन गरेको छ भने नयाँ आधुनिक भवन निर्माणको क्रममा जारी छ । नरैनापुर गाउँपालिका पनि साविकको नरैनापुर गाविसको कार्यालयबाट सञ्चालन भइरहेको छ ।

पालिकाको नयाँ भवन निर्माणकै क्रममा छ । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तवहादुर पौडेलले सिक्टा सिँचाई आयोजनाको मूल बाँध र हेडवक्र्सको काम भएको समयमा निर्माण गरिएको भवनबाट गाउँपालिकाको कार्य सञ्चालन भइरहेको भन्दै स्थान अभाव रहेको बताए ।

अध्यक्ष पौडेलले भने, ‘पालिकाको सेवा प्रवाहका लागि अहिलेको भवन अप्रर्याप्त भएका कारण नयाँ भवन निर्माणका लागि सर्वपक्षीय सहमतिको प्रयास गरिएको छ ।’ काठमाडौंमा रहेको सिंहदरबार झै स्थानीय तहका भवन निर्माणमा कसको ठुलो बनाउने प्रतिष्पर्धा भएजस्तै सेवा प्रवाहमा समेत प्रतिष्पर्धा हुनुपर्ने स्थानीय बासिन्दाको भनाइ छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार १७:१६