गर्मीमा चिसो दही खाँदै शीतलताको अनुभूति गर्नुको मज्जा बेग्लै हुन्छ । अहिले देशभर गर्मीको मौसम सुरु भइसकेको छ । गर्मी बढेसँगै मानिस दही खाने गर्छन् । गर्मी मौसममा दही सुन्दा नै शीतलता प्रदान गर्ने माध्यममा रूपमा बुझ्छन् ।
त्यस्तै मानिस गर्मीमा विभिन्न पेयपदार्थ र शरीरलाई शीतलता प्रदान गर्न खाने कुरा धेरै खाना रुचाउने गर्दछन् । मानिस दही, मोही लस्सी धेरै खाने गर्छन् । यो मौसममा शरीरमा अत्यधिक मात्रामा पसिना आउने भएकोले पनि हाम्रो शरीरमा पानीको मात्रा पनि कम हुने गर्दछ ।
जसका कारण शरीरले सामान्य अवस्थाको भन्दा बढी पानी खपत हुने गरेको हुन्छ । दहीले हामीले खाएका खानेकुरालाई पचाउन मद्दत गर्ने गर्छ । यति मात्र होइन दही सेवन गर्दा स्वास्थ्यमा धेरै फाइदा पुग्ने चिकित्सकहरू बताउँछन् । दहीको नियमित सेवनले गर्मी याममा स्वास्थ्य तथा सुन्दरतालाई प्रवर्धन गर्न सहयोग पुराउँछ ।
अपचको समस्या कम हुन्छ
बिहान बेलुकाको खानासँग दही पिउने गर्दा हामीले खाएको खानेकुराले खाने कुरालाई सहजै पाचलन प्रक्रियामा लैजाने गर्छ । दहिले पाचन प्रक्रियालाई सहज बनाउने चिकित्सकको भनाइ छ ।
शरीरमा भएको बोसोको मात्रालाई पनि नियन्त्रण गर्न सहयोग गर्छ । साना दूध चुस्ने बच्चालाई दूध अपच भएर वान्ता हुने वा पखाला लाग्ने भएमा पनि दहीमा मह मिलाएर खुवाउँदा निकै फाइदा पुग्छ ।
शरीरको तापक्रमलाई सन्तुलन राख्छ
गर्मी याममा दहीको सेवनले शरीरको तापक्रमलाई ठिक्क मात्रामा वा सन्तुलनमा राख्ने काम गर्छ । शरीरको भित्री गर्मी हटाउने कामका लागि पनि दही निकै लाभदायक मानिन्छ ।
भोक जगाउँछ
यो मौसममा पेट पोल्ने, छाला सम्बन्धी समस्या तथा खाना अपच हुने, झाडापखलला लगायतका रोगहरू अधिकांश मान्छेलाई लाग्ने हुनाले भोक नलाग्ने वा खानेकुरा नरुच्ने समस्या धेरैलाई हुन्छ । यस्तो समस्याका लागि दहीको सेवनले भोकसम्म जगाउने काम गर्छ ।
छालाका लागि उत्कृष्ट
गर्मीको समयमा अनुहारमा चाया निस्कने, छालाको पत्र उप्किने जस्ता समस्या देखिन्छन् । अनुहारमा दहीको लेपन गरेर केही समय राखेर सफा गर्दा अनुहारको छाला नरम र चम्किलो हुन्छ । घामले डढेर कालो भएको छालामा दही र कागतीको रस मिलाएको लेप लगाउँदा फाइदा पुग्छ ।
विभिन्न रोगको लागि फाइदाजनक
दैनिक दहीको सेवनले मुटुको रोग, उच्च रक्तचाप जस्ता रोगलाई निको पार्न मद्दत पुग्छ । कोलेस्ट्रोल बढ्न रोक्नुका साथै मुटुको धड्कनलाई ठिक राख्न मद्दत गर्ने गर्दछ । दहीमा क्याल्सियमको मात्रा अधिक पाइन्छ, जसले हड्डीको विकासमा धेरै सहयोग पुर्याएर बलियो बनाउन मद्दत गर्दछ ।
रोग प्रतिरोधक क्षमता बढाउँछ
दहीले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ । दैनिक रूपमा दहीको सेवनले गर्मीमा हुने एलर्जीको समस्यामा पनि समाधान गर्छ । दाँतसँग सम्बन्धित रोगलाई पनि दहिले धेरै फाइदा गर्छ ।
पसिनाको दुर्गन्ध कम गर्छ
गर्मीमा हामी जो कोहीलाई पनि पसिना निकै आउने गर्छ । यस्तो अवस्थामा दही र बेसनको मिश्रणले मालिस गरेर केही समय राखी नुहाउनाले पसिनाको दुर्गन्ध हराउँदै जान्छ ।
अल्सरका बिरामीलाई फाइदाजनक
कुनै बिरामीलाई अल्सर भएको छ भने उनीहरूका लागि दहीको सेवन निकै लाभदायक मानिन्छ । दहीमा थोरै ज्वानो र बिरे नुन मिसाएर दैनिक रूपमा बेलुका सुत्ने बेला सेवन गर्न सकिन्छ ।
दहीको असर
हामीले कहिले पनि खाली पेटमा दही खानुहुँदैन । यसमा पाइने प्रोबायोटिक ब्याक्टेरियाले खाली पेटको एसिडको स्तर बढाउने हुँदा पेट पोल्ने समस्या निम्तन सक्छ । राति पनि दही खानुहुँदैन ।
रातिको तापक्रम चिसो हुँदै जाने हुँदा दही चिसो पदार्थ भएको कारणले खकारको मात्रा बढाउँछ । त्यसको प्रभाव सुरुमा छातीमा पर्छ । विस्तारै छाती दुख्ने, खसखस हुने, शिथिलता बढ्नुका साथै कार्यक्षमतामा ह्रास आउँछ ।
सत्यपाटी संवाददाता । काठमाडौं