सूचनाको शक्ति - The Power Of Information

        

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुस्किल

बाँकेको नेपालगन्जस्थित धम्बोझी माध्यमिक विद्यालयमा अध्ययनका लागि विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाउनुपर्छ । विद्यार्थीको चाप थेग्न नसकेपछि यसवर्षको विद्यार्थी भर्ना कार्यक्रम बन्द गरिएको प्रधानाध्यापक वामदेव सुवेदीले जानकारी दिए ।

निजी विद्यालय छाडेर धम्बोझीमा अध्ययनका लागि आउने विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दो क्रम छ । वाल विकासदेखि कक्षा १२ सम्म धम्बोझी माविमा दुई हजार ७६० विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीमा अध्ययनरतमध्ये करिब ४० प्रतिशत विद्यार्थी निजी विद्यालय छाडेर भर्ना भएको प्रधानाध्यापक सुवेदीले जानकारी दिए ।

प्रधानाध्यापक सुवेदीले भने, ‘विद्यार्थीको चाप थेगिनसक्नु छ, विद्यालयमा अध्ययनका लागि आउने धेरै विद्यार्थीलाई फिर्ता पठाएका छौँ, कक्षा ११ र १२ मा ५–५ वटा सेक्सन बनाएर अध्ययन अध्यापन भइरहेको छ ।’ विद्यालयको तथ्याङ्कअनुसार प्रारम्भिक वाल विकासमा ४८ जना विद्यार्थी छन् भने कक्षा ८ मा २३० विद्यार्थी अध्ययनरत छन् ।

कक्षा ११ मा मात्रै ४६९ विद्यार्थी छन् । बाँकेमा अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी पाउन मुस्किल भइरहेको छ । यो विद्यालयले भने हरेक वर्ष प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गर्दै आएको छ । नयाँ शैक्षिक सत्रमा पनि प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गरिएको प्रधानाध्यापक सुवेदीले जानकारी दिए ।

सामुदायिक विद्यालय भए पनि शैक्षिक सुधार भएपछि धम्बोझी माविमा अध्ययनका लागि निजी विद्यालयबाट विद्यार्थी स्थानान्तरण भई आउने गरेका छन् । नेपालगन्जभन्दा बाहिरी पालिका र बाँकेभन्दा बाहिरी जिल्लाका समेत धेरै विद्यार्थी धम्बोझी माविमा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक सुवेदीले जानकारी दिएका छन् ।

२०१४ सालमा स्थापना भएको धम्बोझी मावि विगतमा जिल्लामा कमजोर विद्यालयको रूपमा परिचित भए पनि शिक्षक कर्मचारी र अभिभावकको सहकार्य र लगनशीलताका कारण पछिल्लो दशकदेखि जिल्लामै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा रहेको छ । प्रारम्भिक वाल विकासदेखि कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयमा प्राविधिक धार अन्तर्गत कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ विषय पठाइ हुँदै आएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलवार ०६:५९