सूचनाको शक्ति - The Power Of Information

        

समाचार

बाँकेको नरैनापुरमा आगलागीबाट ११ घरगाेठ जलेर नष्ट

१७ लाख रुपैयाँभन्दा बढीको क्षति

बाँकेको नरैनापुर गाउँपालिका–५ को जमुनहा गाउँमा हिजाे आगलागी हुँदा ११ वटा घर र एउटा गोठ जलेर नष्ट भएको छ । आगलागीबाट १७ लाख रुपैयाँभन्दा बढीकाे क्षति भएकाे छ।

स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागीबाट जब्बर खाँ, रञ्जु यादव, बिहारीलाल कुम्हर, सलमान खाँ, राजकरण कुम्हार लगायत ११ जनाको घर र फकिरे खाँको गोठमा पूर्ण क्षति पुगेकाे भगवानपुरका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो  ।  दिउँसो १२ बजेदेखि सुरु भएको आगलागी ३ बजे नियन्त्रणमा आएको थियो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, गाउँपालिकाको दमकल, नेपालगञ्जको दमकल र स्थानीयवासीको सहयोगमा आगाे निभाइएकाे प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।

पीडितहरुलाई पालिकाका तर्फबाट सहयोग गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार ०७:२७