हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज आइतवार १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय ४१ दशमलव ७४ विन्दुमा झरेको छ ।
आज उत्पादन र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । दुई सय ७० वटा कम्पनीकाे ७० लाख ५० हजार कित्ता शेयर दुई अर्ब ६३ करोड ९६ लाख रुपैयाँमा कारोबार भएकाे छ ।
सबैभन्दा धेरै शिवम् सिमेन्टको २१ करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भयो । आज हिमालयन ऊर्जा विकास कम्पनीको शेयर सबैभन्दा धेरै साढे छ प्रतिशत तथा न्यादी हाइड्रो र नयाँ साथी लघुवित्त कम्पनीको शेयर पाँच प्रतिशतले ओरालो लागेको छ ।
समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै युनियन इन्सुरेन्स कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ