भर्खर संसद छिरेका तीस वर्षमूनिका कलिला सांसदहरू देशको वित्तीय सङ्कट र अनुशासनको कुरा गर्छन्, बढ्दो बेरोजगारीबारे चिन्ता गर्छन् अनि घट्दो उत्पादकत्व र बढ्दो व्यापार घाटाबारे प्रश्न गर्छन् । तिनले बजेटको आकार बढ़े पनि खुम्चिँदै गएको विकास बजेटदेखि शिक्षा, स्वास्थ्य र कृषिजस्ता आधारभूत शीर्षकमा गम्भीर छलफल गर्न खोज्छन् ।
तिनको बोली र दाबीमा अध्ययन र गृहकार्य झल्किन्छ, राष्ट्रिय–अन्तर्राष्ट्रिय सूचक र तथ्याङ्कहरूको सन्दर्भ हुन्छ, सूचना हुन्छ । तिनले पाएको छोटो समयको लामो सदुपयोग गर्छन् । तर शीर्ष भनिने र आजीवन संसदमैं बिताएका नेताहरूलाई सुन्नुहोस्, तिनले पट्यार लाग्दो गरी एउटै भाषण गर्छन् । एकअर्कालाई विदेशी दलाल, स्याल, कुकुर, सर्प, बिच्छी, धोकेबाज, अवसरवादी र भ्रष्ट भनेर आफ्नो पालामा देशले अद्भुत विकास गरेको दाबी गर्छन् ।
आफूलाई त्यही भाषा अरूले प्रयोग गर्दा चाहिँ फेरि ती पाखुरा सुर्केर रमिता देखाउँछन् । तथ्य र सूचक एकातिर हुन्छन् अनि तिनको दाबी अर्कोतिर हुन्छ । प्रदूषण विश्वकै उच्च र घातक बनेको तथ्याङ्क आउँछ, तर तिनले विश्वकै नमुना शहर बनाएको दाबी गर्छन् । सूचकहरूले विश्वकै भ्रष्ट देश बनेको देखाउँदा तिनले देश स्वर्ग बनेको भाषण गर्छन् । न सन्दर्भ हुन्छ, न डेटा हुन्छ । न देशको जमिनसँग जोडिने कुनै किस्सा हुन्छ, न दैनिक जीवनसँग गाँसिएको कुनै हिस्सा हुन्छ ।
यहाँसम्म कि के बोल्दैछु र हिजो के बोलेको थिएँ भन्ने हेक्कासम्म तिनलाई हुँदैन । मान्छे तिनै हुन्, बुद्धि र गाला त्यही हो, आज झगड़ा गर्छन्, भोलि चाटाचाट गर्छन् । कम्तिमा तिनका युवा नेताले त विषयमा बोल्नु नि ! अलिकति मिहिनेत गरेर, देशविदेश र आफ्नो क्षेत्र घुमेर केकस्ता समस्या छन् र तिनलाई नीतिगत समाधान गर्न एउटा सांसदले के गर्न सक्छ भन्नेबारे बोल्नु नि ! तिनलाई तलब र अन्य सुविधा भाषण गर्न होइन, एकअर्कालाई तुच्छ गाली गर्न होइन, अध्ययन गर्न र नीति बनाउन दिइएको हो ।
उदाहरणका लागि योगेश भट्टराईलाई लिनुहोस् । उनले यो संसदमा उभिएर बिना सन्दर्भ, बिना प्रसङ्ग केपी ओलीले विकासको मूल फुटाएको र अहिले सुकेको भाषण गरे । जबकि केपी ओलीको सरकार हुँदा भ्रष्टाचार, निरङ्कुशता र श्वेच्छाचारिता उत्कर्षमा पुगेको भन्दै विद्रोह गर्ने उनै थिए । विकासको साटो नातावाद, कृपावाद र भ्रष्टाचार मात्रै भएकाले र संविधान नै मिचेर संसदको हत्या गर्ने प्रयास भएकाले उनले केपी ओलीको सरकार ढलाउन सकेसम्म गरेका थिए । त्यस्तो कुन मूल हो जो हिजो उनकै नजरमा थिएन र आज एकाएक प्रकट भयो ?
उनी सार्वभौम संसदलाई हत्या गर्नु गलत भएको भन्दै सड़कमैं उत्रिए तर कित्ता परिवर्तन हुनासाथ एक वर्ष आफै संसद चल्न नदिई नाराबाजी गरे र काम नै नगरी तलबभत्ता बुझे । तीन जना शीर्ष नेता, अझ इमान्दारीपूर्वक भन्दा सबै पार्टीका शीर्ष नेतालाई सुन्दा चुनाबको उत्तेजक भाषण सुने भन्दा कत्ति फरक छैन । तर, नयाँ, अझ त्यसमा पनि कलिला देखिने सांसदहरूलाई सुन्दा युरोपको संसद जस्तो भान हुन्छ । अलिकति परिवर्तन हुँदै छ जस्तो लाग्छ । तपाईंलाई के लाग्छ ?
नारायण गाउँले । काठमाडौं