बाँकेको नरैनापुर गाउँपालिकाबाट हजका लागि जान लागेका यात्रीहरुलाई नरैनापुर गाउँपालिकाले बिदाई गरेको छ । जिल्लाको नरैनापुर गाउँपालिकाबाट–१६ जना हज यात्रीहरुलाई नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आज टोपी, रुमाल र हज मार्गदर्शन किताबका साथ शुभकामना दिदै बिदाई गरेका हुन् ।
साउदी अरबको मक्का मदिनामा हजका लागि यसवर्ष नरैनापुरबाट महिला पुरुष गरि १६ जनाले फारम भरेका थिए । मुस्लिम समुदायको दोश्रो महानपर्व बकरईदको अवसर पारेर साउदी अरबको मक्का मदीना पुगी हजगर्ने गरिन्छ । जिल्लाका हज यात्रीहरु हजका लागि काठमाडौं प्रस्थान गरेका छन् ।
केन्द्रिय हज कमटीले हज यात्रीहरुका लागि काठमाडौको बसाई खाना, टिकट, भिजा, हज खोप र साउदी अरबको बसाई, यात्रासमेत कमेटीले व्यहोर्नेछ । ईस्लाम धर्म अनुसार हजयात्रा प्रत्येक सम्पन्नशाली मुस्लिम व्यक्तिमाथि जिवनभरिमा एक पटक पुरा गर्न अनिवार्य छ ।
आफ्नो जिवनको उत्तरदायित्व जस्तै उमेर पुगेका छोराछोरीको विवाह गर्ने, पूर्णरुपमा ऋणहरु चुक्ता गर्नुपर्ने, आमाबुबाको उचित व्यवस्था मिलाउनु पर्ने, जिवनमा गरिएको झैझगडाको मेलमिलाप गरि नातेदार छरछिमेकहरुसँग सहकार्य गरेर मात्र जान पाउने छ मुस्लिम धर्मावलम्बीहरुको भनाई छ ।
हज पुरा गर्नका लागि साउदी अरबको मक्का मदिना पुगी सामुहिक नमाज पढने, मक्का मदिनाको ७ चक्कर लगाउने, जनावरको कुर्बानी दिने, सफा मर्वा पहाडीको चक्कर लगाउने दानपुन गर्ने जस्ता धार्मिक क्रियाकलाप गर्नुपर्छ । हज पुरा गरेपछि सबै किसिमका पापबाट मुक्ति पाईन्छ भने हज गरेपछि ईस्लामिक क्रियाकलाप बाहेक कुनै प्रकारको गलत काम गर्न नपाईने धर्मावलम्बीहरुले बताए ।
सत्यपाटी संवाददाता । बाँके