एक स्वयमसेवी तटस्थ संस्था । जहाँ विशुुद्ध स्वयम् सेवा गरिन्छ र पीडामा परेका व्यक्तिहरूका मनमा मलम लगाउने काम गरिन्छ । पारिपट्टिको गाउँमा बस्ती नै आगोले सखाप हुँदा, औलतिरका बस्तीमा बाढी पस्दा, खर्कका गाउँहरुमा पहिरो जाँदा, भूकम्पले लेकका बस्तीहरु ढल्दा, तिम्रो गाउँमा झाडापखालाले सताउँदा, रातदिन नभनी सेवा पुर्याउने संस्था हो रेडक्रस । पल्ला घरकी भाउजुलाई सुत्केरी व्यथा लाग्दा कहिँकतै रगत नपाएर छटपटाएको अवस्थामा एक एक थोपा रगत सङ्कलन गरेर अमूल्य जीवन दिने पनि रेडक्रस ।
कोरोना कहरको बेला कस्तो किसिमको रोग आयो भनेर हाम्रो समाजमा अन्यौलता छाउँदा, हामी सबै आत्तिँदा विभिन्न किसिमका जनचेतना फैलाउने पनि रेडक्रस नै हो । रोदनपछिको मुस्कान ल्याउने क्रममा नेपाल रेडक्रस सोसाइटीले डोटी, अछाम र बझाङ्ग जिल्लामा ३३३ वटा अस्थायी घर टहरा निर्माण गरेपछि पीडितहरुका लागि बरदान बन्यो । पटक–पटकको भुकम्पले थिलोथिलो भएका मनहरु जोडिए । भुकम्पले बस्न नसकिने गरि चर्किएका घर परिवारका लागि स्थानीय स्रोत साधनको प्रयोग गरि बासका अस्थायी टहरा निर्माण गरिदियो ।
डोटीको पूर्वीचौकी गाउँपालिकाका सबै वडामा २३३, अछामको मंगलसेन, साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा जम्मा ५० र बझाङ्गको थलारा र खप्तडछन्ना गाउँपालिकामा जम्मा ५० अस्थायी टहरा निर्माण भए । ती अस्थायी घर टहरामा भुकम्प प्रभावितहरु बसिरहेका छन् । भुकम्पले घरमा क्षति पुर्याएपछि बस्दै आएको घर छोडेर खुला आकाशमुनि पाल टाँगेर बस्ने व्यवस्थादेखि अस्थायी टहरा निर्माण गरेर नागरिकलाई उक्त अस्थायी टहरामा बस्ने व्यवस्था गरिदिएको छ । बर्षायाममा टहराभित्र बस्न पाउँदा प्रभावितहरु खुसी छन् ।
डोटीका सहायक प्रमूख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार भुकम्प प्रभावित पूर्वीचौकी गाउँपालिकाको गैरागाउँका बस्तीमा रेडक्रसद्वारा निर्मित अस्थायी आवास र त्यसको उपयोगको अवस्था हेर्दा खुसी लाग्छ । प्रभावितहरुको प्रतिक्रिया र उनीहरुको खुसी देख्दा रेडक्रसको योगदान अतुलनिय देखिन्छ । अब सरकारी तथा गैरसरकारी सबै क्षेत्रको समन्वय तथा सहकार्यमा बलियो र भुकम्प प्रतिरोधी घर पुननिर्माणका लागि पहल आवश्यक छ । यसरी घरहरु निर्माण गर्न सकियो भने भुकम्प प्रभावितहरुको मुहारमा थप खुसी छाउने छ ।
रेडक्रसद्वारा सञ्चालित सुदूरपश्यिम भुकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत डोटी जिल्लाको पूर्विचौकी गाउँपालिमा २३३ वटा अस्थायी टहरा, अछाम जिल्लाको मंगलसेन नगरपालिकामा १० वटा, साफेबगर नगरपालिकामा २० वटा र चौरपाटी गाउँपालिकामा २० वटा गरी ५० वटा अस्थायी टहरा निर्माण भएका छन् भने बझाङ्ग जिल्लामा थलारा गाउँपालिकामा ११ र खप्तडछान्ना गाउँपालिकामा ३९ गरी जम्मा ५० वटा घरटहरा निर्माण भएका छन् । समग्रमा रेडक्रसले ३३३ वटा अस्थायी टहरा निर्माण गरेको छ ।
भुकम्प पीडित परिवारले स्थानीय श्रोत र साधन प्रयोग गरेर सेन्डाइ फ्रेम अनुसार टहरा निर्माण मापदण्डका आधारमा निर्माण गरेका हुन् । निर्माण भएका ३३३ घरधुरीमा शौचालय, हात धुने स्थान समेत बनाउन सहयोग गरेको छ । अस्थायी टहरा, शौचालयसँगै रेडक्रसले तीन वटै जिल्लामा प्रति घरलाई नगद रु.१५ हजार (डोटीमा ४३१, अछाममा १५३ र बझाङ्गमा १४७) सहयोग गरेको छ । दिगोपनालाई मध्यनजर गरि डोटी जिल्लामा फलाम र टिनको प्रयोग गरी केही टहराहरु ट्रसमार्फत बनेका छन् ।
पूर्वीचौकी गाउँपालिका, सानागाउँ निवासी मनसरा खड्का भनिन्, ‘म एकल महिला दैवले पहिले नै श्रीमानलाई खोसिसकेको थियो, त्यसपछि छोरी पनि दैवले खोसेर लग्यो, नातिनी मसँग छ । यतिधरै पीडा सहँदासहँदै भुकम्पले घर पनि भत्काइ दियो । बस्नलाई बास, खानलाई आसबाहेक केही थिएन । भगवानलाई गुहार्नुबाहेक मसँग कुनै विकल्प थिएन, त्यही क्रममा रेडक्रस भगवान बनेर मेरो दैलोमा पुग्यो । रेडक्रसले बस्नका लागि बास व्यवस्था गरिदिएको छ । गासका लागि रु.१५ हजार सहयोग प्रदान गरेको छ, त्यो पैसाले चिया पसल सुरु गर्दैछु ।’
रेडक्रसले ट्रस प्रयोग गरेर दुईकोठा एक भान्छा, शौचालय र हात धुने स्थान बनाइदिएपछि नतिनी र बज्यैसँगै बसिरहेको मनसराले बताइन् । उनले भनिन्, ‘रेडक्रस नै हाम्रो साहारा बन्यो ।’ मनसराजस्तै बासका अस्थायी टहरा पनि आकर्षक तरिकाले निर्माण गरिँदा अहिले स्थानीय पनि खुसी भएका छन् । मनसराको जस्तै मंगलसेन नगरपालिका–४ अछामकी एकल महिला टंकदेवी धामीको घर भुकम्पले बस्न नमिल्ने गरि चर्कियो । आफ्नो घरको साहारा कोही नभएका बेला रेडक्रसले घर बनाइदिएपछि खुशी भएको उनले बताइन् ।
टंकदेवीले भनिन्, ‘रेडक्रसले अस्थायी रुपमा भए पनि बाँसको राम्रो बस्ने घर निर्माण गरिदिएपछि आफुलाई निकै सहज भएको छ । हामीलाई सरकारले केही सहयोग नगरेका बेला हाम्रो साहारा रेडक्रस बनेको छ । कोही नहुनेको दैव हुन्छ भन्थे, हाम्रा लागि रेडक्रस साँच्चिकै दैव बनेर आएको छ । भगवानले हाम्रो पीडा देखेरै मल्हम लगाउनका लागि रेडक्रसलाई पठाउनुभएछ ।’ पीडामा परेका बेला रेडक्रसले आफूहरुलाई सहयोग गरेर जीवनभर गुण लगाएको पनि टंकदेवीले बताइन् । उनले अब स्थानीय सरकारले भुकम्प प्रभावितहरुका लागि घर निर्माण गर्न सहयोग गर्नुपर्ने माग समेत गरेकी छन् ।
रेडक्रसले बझाङ्ग जिल्लामा पनि ५० वटा अस्थायी टहरा निर्माण गरेको छ । तीमध्ये २८ घरधुरी दलित बादी समुदायका छन् । रेडक्रसले प्रतिघर रु. १५ हजारका दरले १४७ घरधुरीलाई नगद रकम सहयोग गरेको छ । बादी समुदायका अगुवाहरु भन्छन्, ‘जुन ठाउँमा सरकार र अरु संघसंस्था पनि पुग्न सकेका छैनन्, त्यहाँ रेडक्रस पुगेको छ ।’ महिलाहरुलाई घर खर्च चलाउन, बालबच्चालाई न्यानो लुगा किन्न, गर्भवती तथा सुत्केरी महिलालाई पोषिलो खाना, घर मर्मत लगायतका कुरामा सहज होस् भन्ने उद्देश्यले रेडक्रसले नगद सहयोग गरेको हो ।
यस्ता घटनामा महिला, एकल महिला, गर्भवती तथा सुत्केरी महिला तथा बालबालिकाहरु, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरीक सबैभन्दा बढी प्रभावित हुने भएकाले उनीहरुलाई लक्षित गर्दै बहुउद्देश्यीय नगद सहयोग सञ्चालन गरेको हो । यो रकम सम्बन्धित लाभग्राहीको खातामै पठाउनुपर्ने भएकाले स्वयम् उनीहरुकै बैंक खातामा रकम पठाइएको र यस क्रममा धेरै महिलाहरुको बैंकमा खाता नै नभएकाले धेरैलाई नागरिकता बनाएर खाता समेत खोल्न लगाइएको थियो । यसले गर्दा महिलाहरुलाई अन्य कुरामा पनि फाइदा पुगेको छ ।
यसले संरक्षण, लांैगिक तथा समावेशीकरणको कुरालाई पनि उतिकै जोड दिएको हुँदा यो प्रतिकार्य कार्यक्रम निकै प्रभावकारी देखिन्छ । तर यस्ता कार्यक्रम सञ्चालन गर्दा चुनौती पनि उतिकै थिए । रोजगारीको सिलसिलामा पुरुष भारत गएको हुँदा डोटी पूर्वीचौकी गाउँपालिकाका दुई जना सुत्केरी महिला, साफेबगर नगरपालिका–१२ खप्तडका दुई जना (आमा बुवा दुबैजना रोजागरीको शिलशिलामा भारत गएका) बालक र बझाङ्गमा एक जनालाई सरोकारवालाको रोहबरमा बहुउद्देश्य नगद सहयोग गरिएको थियो ।
उक्त रकमबाट दाल, चाम, नुन र आफ्नो पढाईको लागि आवश्यक सामाग्री खरिद गर्ने, पोषिलो खाना खाने बताएका थिए । रेडक्रसको सहयोगपछि स्थानीय निकै खुसी भएका थिए । नयाँ बर्षको मुखैमा १५ हजार नगद रकम पाएपछि नयाँ बर्षमा लगाउन मिल्ने लुगाफाटो किनमेल गर्न पनि सहज भएको अछामका बालक दिनेश कठायतले बताएका थिए । यतिमात्रै होइन रेडक्रसले भुकम्पका कारण मानसिक तनाव झेलिरहेका ब्यक्तिलाई परामर्शसँगै बालबालिकाका लागि विद्यालयस्तरमा विभिन्न किसिमका बालमैत्री स्थानका लागि सामाग्रीसमेत सहयोग गरेको थियो ।
भुकम्पले बालबालिकामा पर्न गएको मानसिक तनावलाई भुल्न चिप्लेटी, पिङ्ग, बल, कथा किताब, कापी, चित्र बनाउन सामाग्री आदी प्रदान गरेको थियो । यसले गर्दा धेरैजना बालबालिकालाई भुकम्पको कहालीलाग्दो अवस्थालाई भुल्न सहयोग पुगेको विद्यालय तथा भुकम्प प्रभावित स्थानीयले बताए । रेडक्रसले अछाम र बझाङ्ग जिल्लामा प्रतिजिल्ला ५ वटाका दरले जम्मा १० वटा र डोटी जिल्लामा ११ वटा खानेपानीका योजना निर्माण गर्नुका साथै सेनेटरी प्याड डिस्पोजल गर्ने खाल्डाहरु पनि निर्माण गरेको छ । रेडक्रसले स्थानीय सरकारसँग पनि प्रभावकारी ढंगले समन्वय गर्दै यस्ता सामाजिक कार्यहरु गर्दै आएको छ ।
भुकम्प जाना साथ राती नै उद्धारका लागि रेडक्रस पुगिसकेको थियो, भुकम्पले धनजनको क्षति पु¥याएका प्रत्येक पालिकामा गएर पीडित घरपरिवारलाई तत्काल आवश्यक राहात वितरण गरेको थियो भने पीडित घर परिवारका लागि आवश्यक परामर्शसमेत दिएको थियो । रेडक्रसले विगत लामो समयदेखि परोपकारी क्षेत्रमा काम गर्दै आइरहेको छ । जिल्लामा सञ्चालन भएका हरेक सामाजिक अभियानमा रेडक्रसले जिल्ला शाखाहरुमार्फत नेतृत्वदायी भुमिका खेल्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटी प्रहरी नायव उपरीक्षक भुवराज भण्डारीका अनुसार रेडक्रसमार्फत निर्मित अस्थाइ टहराको चर्चासँगै सकारात्मक प्रतिक्रिया आएकाले पनि गैरागाउँमा अनुगमन तथा निरिक्षण गरेको बताए । स्थानीय नागरिकसँग समेत अन्तरक्रिया गरिएको थियो । उनले भनेका छन्, ‘जे देखियो, त्यही भन्नुपर्छ, भुकम्प प्रभावित व्यक्तिहरुको मुहारमा हाँसो र खुसी देखियो, यस्तो मानविय कार्यका लागि नेपाल रेडक्रस र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघलाई हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु ।’
वास्तवमै विपद् र संकटजन्य अवस्थामा सबैले सम्झिने पहिलो संस्था बनेको छ नेपाल रेडक्रस सोसाइटी । ‘विपद्को अवस्थामा आममानिसहरु सुरक्षित अवस्थाको खोजीमा निस्कन्छन्, तर सुरक्षाकर्मी र रेडक्रसकर्मीहरु सुरक्षित स्थलबाट मानव जीवनको रक्षाका लागि आगो, बाढी, पहिरो लगायत असुरक्षित र संकटग्रस्त क्षेत्रमा खट्छन् । मानव जीवन र सम्पत्तिको रक्षाका लागि आफ्नो जीवनको असुरक्षा बिर्सिने त्यस्ता मानवतावादीहरुको जीवन स्वयंमा तीर्थस्थल हो ।
रेडक्रसले जिल्लाका कुनाकन्दरामा पुगेर गरेको सहयोग र उद्वारका कार्यप्रति जति प्रशंसा गरेपछि अपुग हुने देखिन्छ । अफ्ठ्यारो समयमा सम्झने संस्था नै रेडक्रस भएको छ । अझ रेडक्रस मानवतासँग जोडिएको संस्था भएकाले मानवियता विनाको विकास अपूर्ण देखिन्छ । रेडक्रस विपदको सारथी हो । विपद् प्रतिकार्यमा रेडक्रसको अभियान गज्जबको छ । विपद् व्यवस्थापनमा रेडक्रसको भूमिका सह्रानीय छ । उत्थानशिल समुदाय निर्माणका लागि सहयोग, सह–अस्तित्व र सहकार्यलाई प्राथमिकीकरण गर्नु रेडक्रसको थप सबल पक्ष हो ।
रेडक्रसद्वारा सञ्चालित सेवामूलक कार्यहरुले समुदायको उत्थानशीलता प्रवद्र्धनमा ठूलो सहयोग पुगेको छ । रेडक्रसले आफ्नो स्थापनाको कालदेखिनै मानिसको जीवन रक्षा तथा स्वास्थ्य सुरक्षाको लागि समुदाय केन्द्रित कार्यक्रमहरु समुदायमा सञ्चालन गर्दै आएको छ । रेडक्रसले सरकारको प्राथमिकताको क्षेत्रमा काम गरी राष्ट्रिय लक्ष्य प्राप्त गर्न थप सहयोग गर्दै आएको छ । विपद जोखिम न्यूनीकरणका राष्ट्रिय नीति, रणनीति, कार्ययोजना र विपद् जोखिम न्यूनीकरणको मूलप्रवाहीकरणमा पनि रेडक्रसको महत्वपूर्ण भूमिका देखिन्छ ।
रेडक्रस हरेक विपद्को समयमा अग्रपंक्तिमा खटिने संस्था हो । मानविय सेवा नै यसको मुख्य धर्म हो । नीति नियम र मापदण्ड अनुसार निस्वार्थ काम गर्दै आइरहेकोले पनि नागरिकहरुको रेडक्रसप्रति विश्वास बढेको पाइन्छ । समग्रमा भन्नुपर्दा रेडक्रसमा मानवता छ, एकता छ । रेडक्रसकर्मी बन्नु सौभाग्यको कुुरा हो । जहाँ धेरै दुःख र पीडामा रहेका व्यक्तिहरूका लागि सहयोग गर्ने स्थान छ । रेडक्रस एउटा परोपकारी संस्था हो, यहाँ केही लिनका लागि होइन केही दिन र केही गर्ने भावना भएका विश्वभरका नागरिकहरुको साझा चौतारी हो ।
रितु खड्का पाल । कञ्चनपुर