सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

‘रानीतलाउ’ उपन्यासको भूमिका

लैङ्गिक जागरण, जातिगत विभेद, धार्मिक विभेद र भौगोलिक विभेदका विरुद्ध जागरुक बनाउन उपन्यासको मर्म अघि बढेको छ ।

कल्पना खरेल शब्दचित्रका माध्यमबाट आफूले भोगेको, देखेको र अनुभूति गरेको समयको अभिलेख तयार गर्छिन् । उनको यो अभिलेख अहिले ‘रानीतलाउ’ नामको उपन्यासबाट तयार गरिएको छ । उपन्यास लेख्नु सत्यका पाटाहरु उजागर गर्नु हो । सत्यलाई प्रमाणित गर्न अनेकौँ कथात्मक श्रृङ्खलाहरुको संयोजन गर्नु पनि हो । जीवनको कुनै निश्चित आकार र परिधि हुँदैन, तर उपन्यासले जीवन र जगत्को एउटा निश्चित खण्ड समेट्छ र अरु खण्डहरुलाई निर्देशित गर्छ ।

उपन्यास लेख्नु मान्छेको गतिविधि लेख्नु पनि हो, मान्छेहरुका सम्बन्धलाई कोट्याउनु पनि हो, मान्छेहरुका आयतन र आयामका रङहरुलाई सुललित ढङ्गले अरुलाई बताउनु पनि हो । जीवन र जगतका सबै घटना, परिघटना र परिदृश्यहरू लेखेर पूर्ण त हुँदैन, तर उपन्यास लेख्नु जीवनका बहुपक्षीय कोणहरुलाई ढक्ढक्याएर ज्ञानका मिहिन उज्यालाहरुलाई अरु समक्ष प्रक्षेपण गर्नु पनि हो । उपन्यासकार कल्पना खरेल पनि उपन्यास लेखन परम्परामा नयाँ दियो बोकेर अघि बढिरहेकी छिन् । उनले बोकेको दियोको उज्यालोले संसार र समाजमा रहेको धुलो, जालो र अन्धकारलाई जलाएर एउटा निर्मल र निष्कलङ्कित मान्छे निर्माणको अपेक्षा गर्छ ।

केही वर्षअघि मैले कल्पना खरेलको दोश्रो उपन्यास ‘लभ इन जेरसलेम’ पढेको थिएँ । त्यो पढ्नुअघि नै मैले जेरुसलेमको भ्रमण गरेको थिएँ । इजरायलको भूमि र नेपाली चेली कल्पना खरेलले बुनेको औपन्यासिक परिवेशले मेरो मथिङ्गलमा एउटा सुमधुर, शीतल र सुस्वादु स्पर्शले सुम्सुम्याएको थियो । त्यो उपन्यासमा कल्पनाले मान्छेका पीडा मात्र दर्शाएकी छैनन्, सङ्घर्षका कहालीलाग्दा क्षणहरू सम्झाएकी मात्र छैनन्, सम्भावनाका नवीन बाटाहरु पनि इङ्गित गरेकी थिइन् । त्यसै भएर पनि मैले मन पराएको थिएँ उनको लभ इन जेरुसलेमलाई । एउटी सिर्जनशील लेखिका विदेशी भूमिमा हरेक क्षण काम, काम, काम भनेर दौडिरहन्छिन् र निद्रा एवम् थकानका क्षणहरुलाई बिथोलेर उपन्यासजस्तो गम्भीर विधामा कृति तयार गर्छिन् । यही कल्पना खरेल । छ थाहा पाएर प्रभावित भएको थिएँ म बहिनी कल्पनाबाट ।

‘यो नयाँ उपन्यासको भूमिका हजुरले लेखिदिनुपर्छ ।’ बहिनीको यो आग्रहलाई मीठो रुपमा स्वीकारेँ मैले । पाण्डुलिपि पढेँ । जति पढेँ तान्यो, तानिरह्यो, एउटा सुन्दर चुम्बकीय शक्तिले । यस उपन्यासको नाम राख्ने विषयमा पनि निकै छलफल भयो हामी दाजुबहिनीबीच । अन्त्यमा यस उपन्यासको नाम रानीतलाउ रानीतलाउरानीतलाउ जुराएँ मैले । बहिनीलाई पनि निकै चित्त बुझ्यो यो नाम ।

सरल शब्द, सरल वाक्यहरु, सिधा रेखात्मक लय – यी र यस्तै शैलीबाट कति मीठो ढङ्गले उठान र बैठान गरेकी छिन् बहिनी कल्पना खरेलले उपन्यासलाई । रानीतलाउ पढेपछि कल्पनाको उपन्यास लेखनशक्तिले अरु तान्यो मलाई । रानीतलाउ उपन्यास पश्चिम नेपालको नेपालगन्ज र त्यस वरिपरिको सेरोफेरोलाई केन्द्र बनाएर तयार गरिएको छ । अझ भनाँै, नेपालगन्ज सहरको रानीतलाउ वरिपरिको परिवेश छ यसमा । यसको मूल पात्र रेखा हुन् । रेखा नेपालगन्जको रानीतलाउ नजिक बसोबास गर्ने पात्र हुन् । त्यस क्षेत्रमा हिन्दु र मुसलमानहरू युगौँयुगदेखि मिलेर बसेका छन् । समाजमा बसेपछि यदाकदा ठाकठुक पर्छ, तर पनि सबैसबैको बीचमा आपसी भाइचारा छ, सांस्कृतिक आदान–प्रदान छ, एक–अर्काप्रति माया र सहयोगी समर्पण छ ।

रेखा विद्यालय र कलेजमा पढ्दा हिन्दु, मुसलमान सबै धर्मका साथीहरुको साथ पाउँछिन् । त्यो समाजमा गरिबी, अज्ञानता, अशिक्षाका काला फन्डाहरु सधैँ उठिरहेका छन् । त्यसै भएर बेलाबेलामा जात, धर्म, भूगोल र लिङ्गलाई आधार बनाएर अनेकौँ कुरीतिका शङ्काहरुले मान्छेलाई बेचैन बनाइरहन्छन् । परिणामस्वरुप मन मिलेको साथीसँग बिहे गर्न खोज्दा जात, धर्म, औकात र परम्परागत रबाफलाई कसीका रुपमा प्रयोग गरिन्छ र कैयौँको जीवन नै बर्बाद हुन्छ । विद्यालयमा पढ्दापढ्दै देह व्यवसाय गर्न बाध्य हुनु, मन मिलेको जोडीले विवाह गर्न खोज्दा समाज र बस्ती नै छोडेर विदेशिन बाध्य हुनु; सुसभ्य, सुसंस्कृत र मन बुझ्ने जोडी छोराछोरीले खोजे पनि बाबुआमाले त्यसको सट्टा समाजका आडम्बरलाई प्राथमिकता दिने परिवेश सिर्जना हुनु एउटा संवेदनशील परिवेश उजागर गरिएको छ । यसै परिवेशमा रेखाका साथीहरुको जीवन सोचेजस्तो हुँदैन । स्वयम् रेखाले मन पराएको युवकसँग बिहे गर्ने प्रस्तावमा पनि उनका मातापिताको सहमति जुटाउन निकै माथा पच्चीसी गर्नुपरेको देखिन्छ ।

अन्त्यमा मातापिताले रेखाको प्रस्ताव स्वीकार्छन् र रेखा र बब्लुको बिहे गरिदिने टुङ्गोमा पुग्छन् । मधेसी मूलको बब्लुसँग नातिनी रेखाको बिहे गरिदिन लागेको कुरा थाहा पाएपछि हजुरआमाको हर्टअट्याकबाट मृत्यु हुन्छ । यो घटनाले तत्कालै बिहे रोकिन्छ । बब्लु रोजगारी गरेर केही कमाउने अभिप्रायले विदेशिन्छन् । तीन वर्षपछि स्वदेश कल्पना खरेल । फर्कने क्रममा बब्लुको मृत्यु हुन्छ । एउटा गम्भीर र दुःखान्त मोडमा उपन्यास सकिन्छ । यो नै औपन्यासिक सन्दर्भ हो, कल्पना खरेलको रानीतलाउ उपन्यासको । रानीतलाउ उपन्यासको कथावस्तु नेपाली समाजको आमचरित्रसँग मिल्छ नै । संस्कार परिष्कार भइनसकेको जात, धर्म, भाषा, भूगोलको आडमा मान्छे विभाजनका परिदृश्य सुन्दर ढङ्गले आएका छन् यो उपन्यासमा ।

रानीतलाउ उपन्यास एकातिर कथाका अनेकौँ मोडहरुलाई सुस्वादु ढङ्गले बुन्न सफल छ भने अर्कातिर लिङ्ग, जात, भूगोल, धर्म र भाषाको विभेदबाट माथि उठेर मानववादको वकालत गरेकाले विचारप्रधान पनि छ । उपन्यासमा बहुसङ्ख्यक पात्रहरु नारी छन्, केही पुरmषहरु पनि छन् । तर, ती सबै कथाहरु युवायुवतीका घटना परिघटनासँग जोडिन्छन् । जातीय बहुलताको सौन्दर्यलाई समेटेर मान्छे केवल मान्छे हो भन्दै मानवताको वकालत गर्न उपन्यास सफल छ । रेखाजस्ती प्रमुख पात्र युवती नै भए पनि युवकहरु र पुरmषहरुको अस्तित्वलाई पनि सतर्कतापूर्वक अघि बढाउन उपन्यास सफल छ । कल्पना खरेलको उपन्यास लेखनकला आकर्षक छ । उपन्यास पढ्न थालेपछि पाठक उत्सुकता र अनुभूतिको परिपाकमा घुलिइरहन्छ र पछि लागिरहन्छ लेखकको । शिक्षा र चेतनाले एक मान्छेले अर्को मान्छेको अस्तित्व स्वीकार गर्छ र अरुसँग सहयोगका हात बढाउँछ भन्नेमा उपन्यासले स्पष्ट ढङ्गले वकालत गरेको छ ।

रानीतलाउ उपन्यासले नेपालको तराई क्षेत्रमा विद्यमान सामाजिक कुरीति–कुप्रथाहरुलाई बढो रोचक ढङ्गले प्रकाश पारेको छ । रजस्वला हुँदा अछूत मान्ने, दाइजो प्रथाको चरम विकृति, परिवार नियोजनलाई धर्मविरुद्ध मान्ने, खुला दिसा–पिसावको प्रचलन, शिक्षित र सभ्य भनेका परिवारले पनि छोरीको सहमति नै नलिई अथवा छोरीको इच्छाविपरीत विवाह गरिदिने प्रचलन, गगनगञ्जमा देहव्यापारको प्रचलनजस्ता प्रसङ्गहरुले नेपाली समाज अनेकौँ कुरीतिबाट उठ्न नसकेकोतर्फ उपन्यासले इङ्गित गरेको छ । मानवको जन्म यौन क्रियाकलापबाट नै हुन्छ । यौन मान्छे र प्राणीजगत्मा अपरिहार्य आवश्यकता पनि हो । यौन मनोविश्लेषण गर्न कल्पना खरेलले आफ्नो सुन्दर शिल्प प्रस्तुत गरेकी छिन् । उनले गरेको यौन वर्णन सजीव र सार्थक छ । एउटा लेखकले यौनको मामलालाई आवश्यकता अनुसार प्रस्तुत गर्नुपर्छ । कल्पना खरेलले रानीतलाउ उपन्यासमा यौनलाई आकर्षक र सान्दर्भिक ढङ्गले प्रस्तुत गरेकी छिन् । यौन मनोविश्लेषणको मामलामा उनको लेखाइ निकै सशक्त र सबल लाग्छ । यसका केही उदाहरण निम्न बमोजिम छन् :

उमेर सर्लक्क बढ्दै गयो, शुल्कपूर्णिमाको जूनजस्तै गरी । एकाएक अनुहार आकर्षक देखिन थाल्यो । शरीरको बनावटमा बद्लाव आयो । थाइ–पाखुरा बढे । कम्मर पातलो भयो । हिप बढ्यो । शरीर पोटिलो भयो । संवेदनशील अङ्गमा परिवर्तन देखियो । त्यो परिवर्तन बयरको दानाजस्तोबाट सुरु भयो, छातीमा पिलो उठेको जस्तो । दुवैतिर गाँठा पर्दै आए । टुसुक्क उम्रे दुवैतिर, मुनाजसरी ।

  • सधैँ घोडाघोडीबीच सम्भोग देखिन्थ्यो ।
  • बाबा–ममीबीच सम्भोग भयो होला र मलाई बिजारोपण गरे होलान् ।
  • गाई खोजेको साँढेजस्तो ।
  • बाँझो खेतको गरामा हलो जोत्यो । भत्किएका कान्लाहरुमा बीउ छर्यो ।

गरिबी र अशिक्षा नेपालीका लागि सबैभन्दा ठूलो रोग हो भन्ने कुरा रानीतलाउ उपन्यासमा कल्पनाले निकै सजीव ढङ्गले वर्णन गरेकी छिन् । गरिबीकै कारण गगनगञ्जमा आफ्नी छोरी र बहिनीको देहव्यापारका लागि ग्राहक पाउँदा फुर्कनेहरुको कहालीलाग्दो कथा यसभित्र छ । गरिबीकै कारण विदेशिएर उतै प्राण अन्त्य गर्ने कथा पनि यसमा छ । गरिबीकै कारण समाज सोचेजस्तो नबनेको दुःखेसो पनि यो उपन्यासमा रोचक ढङ्गले उभिएको छ । यसले कल्पना खरेलको उपन्यास लेखनको सबल पक्षको पुष्टि गर्छ । रानीतलाउ उपन्यासको कतिपय खण्डमा कल्पना खरेल स्वप्नदर्शी देखिन्छिन् । कतिपय खण्डमा उनी भावुक र कल्पनाशील पनि बनेकी छिन् । रेखाजस्ती एउटा नारीको जन्मदेखि युवावस्थासम्म घटेका अनेकौँ घटना, सामाजिक परिवेश, रेखाका हजुरआमादेखि बुबाआमा र उनका सहपाठीका मनोभावना निकै सजीव ढङ्गले प्रस्तुत भएको छ यो उपन्यासमा ।

नेपालको राजनीतिक परिवर्तन, विद्यालय, महाविद्यालयमा भइरहने हो–हल्ला र छिनाझपटीजस्ता सन्दर्भहरु पनि निकै कलात्मक रुपमा प्रस्तुत गरेकी छिन् कल्पनाले । सामाजिक द्वन्द्व र द्वन्द्वपछिको समाधान पस्कन पनि उनको क्षमता विशेष देखिन्छ । कल्पनाको यो उपन्यास पढ्दा प्रेम, सङ्घर्ष र बिछोडका सामाजिक दृश्यहरु झल्झली आउँछन् । यो पढ्दा एउटा सफल चलचित्र हेरिरहेको भान पर्छ । अर्को शब्दमा भन्दा यस उपन्यासमा आधारित चलचित्र बनाउने हो भने त्यो निकै आकर्षक र प्रिय बन्छ भन्ने मलाई लाग्छ । नेपाली संस्कृति, संस्कार र परिवेश प्रस्तुत गर्न उपन्यास निकै सफल छ । कल्पना खरेल सफल कवि र गीतकार भएकीले पनि हुनुपर्छ, उपन्यास काव्यात्मक छ । उपन्यास पढ्न थालेपछि पूरा नगरेसम्म छोड्न सक्दैन पाठकले ।

उपन्यासमा उपन्यासकारले आडम्बर देखाएकी छैनन् । उनको सरलता उपन्यासमा टड्कारो रुपमा प्रतिविम्बित छ । प्रेम, त्याग, स्वार्थ, भावुकता, पीडा, संयोग, सङ्घर्षजस्ता जीवनका अनेकौँ पाटाहरुलाई उपन्यासका घटनाहरुमा समेटिएकाले यसको महङ्खव अरु बढेको छ । रानीतलाउ यथार्थवादी उपन्यास हो । सशक्त कथाशैलीले उपन्यास सफल बनेको छ । बोलीचालीका शब्द प्रयोग र सरल रेखामा अघि बढ्ने भाषाशिल्पका कारण कल्पना खरेलको उपन्यास लेखनीले धेरै शुभ सङ्केत देखाएको छ । वास्तवमा सरल लेख्नु निकै गाह्रो काम हो । रानीतलाउको सरलताले सबै किसिमका पाठकलाई सुमधुर ढङ्गले तानिरहन्छ । यो उपन्यासले समाजका सबै पक्षमा परिवर्तनको सङ्केत पनि गरेको छ । लैङ्गिक जागरण, जातिगत विभेद, धार्मिक विभेद र भौगोलिक विभेदका विरुद्ध जागरुक बनाउन उपन्यासको मर्म अघि बढेको छ । स्रष्टाले गरेको सिर्जना समाजको चित्रण मात्र होइन, समाजलाई नयाँ दिशातिर उन्मुख गराउने पनि हो ।

पश्चिमी देशहरुबाट सन् १९६० पछि सुरु भएको नवऐतिहासिकतावाद (न्यु हिस्ट्रोलिज्म), विनिर्माणवाद (डिकन्स्ट्रक्सन) र सांस्कृतिक अध्ययन (कल्चरल स्टटिज) जस्ता सिद्धान्तहरुले पनि समाजका हिजोका मूल्य–मान्यताहरु फेरिन्छन् र फेरिनुपर्छ भन्ने पक्षमा वकालत गर्छन् । ती दृष्टिकोणबाट हेर्ने हो भने पनि रानीतलाउले समाज परिवर्तनमा महङ्खवपूर्ण भूमिका खेल्छ भन्ने मलाई लाग्छ । मुख्य कुरा उपन्यासकारले पात्रलाई कतै पनि ढाँट्न लगाएकी छैनन् । पात्र र परिस्थितिअनुसार स्पष्ट बोल्न लगाएकी छिन् । यौनकै कुरा गर्ने हो भने पनि हाम्रो समाजमा यौन सबैले चाहने, तर चर्चा कसैले गर्न नचाहने अथवा यौनबाट टाढै भएको सङ्केत गर्न हौसिने गलत संस्कार हाम्रो समाजमा अझै छ । त्यो गलत संस्कारका विरुद्ध यौनलाई उज्यालो, स्पष्ट र शारीरिक आवश्यकताका रुपमा कल्पनाले चित्रण गरेकी छिन् । यसले उपन्यास झन् रोचक बनेको छ ।

कल्पना खरेलको उपन्यास रानीतलाउ पढ्दा मैले प्रसिद्ध अमेरिकी आख्यान लेखिका केट चोपिनको द अवेकेविङ सम्झिएँ । केटले अमेरिकी शहर लुजियानालाई पृष्ठभूमि बनाएर त्यहाँको संस्कार, संस्कृति, भूगोल र समाजको चित्रण गरेकी छिन् । यता कल्पना खरेल भने नेपालगन्जको रानीतलाउ वरिपरि र बढीमा कैलालीको चिसापानीसम्मको परिवेशमा केन्द्रित हुन्छिन् । केटजस्तै कल्पनाको पनि स्थानीय रङहरुलाई उजागर गर्ने शक्ति बेजोड बनेर आएको छ । समाजका संरचनाहरु र अन्तरसम्बन्धहरु बुझ्न पनि रानीतलाउ अध्ययन गर्नु राम्रो हुन्छ । कल्पना खरेल । ज्ञघ मेरो विचारमा उपन्यासकारले पात्र र परिवेशको चित्रण गरेर मात्र पुग्दैन । पात्र र परिवेशका काला र अप्ठेरा पक्षहरुलाई सुगम र सुधारतिर मोड्न पनि सक्नुपर्छ । बहिनी कल्पना खरेलको उपन्यास लेखनले पनि कतिपय ठाउँमा त्यो सङ्केत गर्छ । अबका उपन्यासहरुमा यो पक्ष अझ दह्रिलो बनोस् भन्ने आग्रह गर्छु म बहिनी कल्पना खरेलसँग । एउटा सुन्दर उपन्यासका लागि बधाई दिन्छु म बहिनीलाई ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, काठमाडौं

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतवार ०९:३०