रूग्ण गोरखकाली रबर उद्योगलाई पुरानै स्थितिमा फर्काउने सरकारको घोषणा कार्यान्वयन होला त भन्ने प्रश्न फेरि सतहमा आएको छ । सरकारले हालै सार्वजनिक गरेको आउँदो आव २०८०–०८१ को नीति तथा कार्यक्रममा बन्द अवस्थामा रहेको सो उद्योग पुनः सञ्चालनमा ल्याउने उल्लेख छ ।
सरकारको उक्त निर्णयले आशा जगाएको भए पनि घोषणा कार्यान्वयन हुनेमा भने जनस्तरमा संशय छ । यसअघि पनि पटकपटक गोरखकाली रबर उद्योग लगायत बन्द तथा रूग्ण अवस्थामा रहेका स्वदेशी उद्योग चलाउने सरकारी प्रयासले सार्थकता पाउन सकेको थिएन । गोरखकाली देशकै एक मात्र टायर उत्पादन गर्ने उद्योग हो ।
विसं २०४९ साउनदेखि व्यावसायिक उत्पादन थालेको सो उद्योग व्यवस्थापनको कमजोरीका कारण विसं २०७२ देखि पूर्णरूपमा बन्द छ । सरकारले उद्योगमा कार्यरत २८० कर्मचारीलाई विसं २०७६ फागुनमा रु ९६ करोड दायित्वसहित अवकाश दिएको थियो । अहिले उद्योगको रेखदेखका लागि करारका कर्मचारी र सुरक्षागार्ड छन् ।
उद्योगका प्रशासन अधिकृत दिनेश कार्कीले सरकारले चाहेमा अहिले भएकै पूर्वाधारबाट उद्योग पुनः सञ्चालन गर्न सकिने बताए । ‘५०–६० वर्षलाई थेग्ने गरी उद्योगको भौतिक संरचना बनेको छ,’ उनले भने, ‘बिग्रेका उपकरण र प्रविधि फेर्न थप लगानी भने गर्नुपर्छ ।’ अधिकृत कार्कीका अनुसार उद्योगबाट ‘बायस’ प्रविधिको टायर र ट्युब उत्पादन हुँदै आएको थियो ।
अहिले भारतीय बजारबाट ‘रेडियल’ अर्थात् ‘ट्युबलेस’ प्रविधिको टायर नेपाल भित्रिने गरेको छ । नेपालको भू–बनोट र सडकको स्तरअनुसार अझै केही दशक बायस प्रविधिकै टायर प्रयोगमा ल्याउन सकिने उनको भनाइ छ । ‘रेडियल प्रविधिमा जाने हो भने रु ५० करोडभन्दा बढी लगानी चाहिन्छ, यो प्रविधि महँगो छ,’ अधिकृत कार्कीले भने ।
उद्योग बन्द हुनुपूर्व २५ वर्षसम्म उनले त्यहाँ कर्मचारीका रूपमा काम गरेका थिए । अहिले उद्योगको संरक्षण र रेखदेखका लागि उद्योग मन्त्रालयले उनलाई करारमा खटाएको छ । ‘सहसचिवको नेतृत्वमा बनेको अध्ययन कार्यदलले पनि यो उद्योगलाई पुनः सञ्चालन गर्न सकिने भनेर औंल्याएको छ,’ अधिकृत कार्कीले भने ।
उनका अनुसार सरकारको नीति तथा कार्यक्रममा पनि समावेश भएपछि उद्योग चल्नेमा आशा जागेको छ । अधिकृत कार्कीले भने, ‘मुख्य रूपमा उद्योग मन्त्रालयले नै यसमा पहल लिनुपर्छ ।’ गोरखाको गोरखा नगरपालिका–१३ मजुवा देउरालीको ६६५ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा झण्डै रु १० अर्ब बराबरको सम्पत्ति छ ।
गोरखकाली रबर उद्योगको जग्गा, भवन, वन सम्पदा, उपकरण आदिको संरक्षण प्रयास भए पनि लामो समयसम्म सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएका छन् । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले सार्वजनिक–निजी साझेदारी अवधारणा अनुसार उद्योग चलाउनुपर्ने धारणा राखे ।
‘सरकारको मात्रै बाटो हेरेर हुँदैन । यसलाई थ्री पी मोडलमा लैजानुपर्छ,’ उनले भने, ‘उद्योग पुनः सञ्चालनबारे चीन र नेपालका विज्ञसँग छलफल भइरहेको छ । उद्योग चलाउन हामी लागिपरेका छौँ ।’ गुणस्तरीय टायर स्वदेशमै उत्पादन गर्नसक्ने उद्योग लामो समयसम्म बन्द हुनु दुर्भाग्य भएको उनको भनाइ छ ।
‘बजारमा रहेको भारतीय टायरको वर्चश्व तोड्न र नेपाली टायरलाई प्रतिस्पर्धी बनाउन पनि यो उद्योग सञ्चालन गर्नैपर्छ,’ प्रमुख राना मगरले भने, ‘स्वदेशी उत्पादनको प्रवर्द्धन र रोजगारी सिर्जनामा यसले ठूलो मद्दत पुर्याउँछ ।’ राजनीतिक प्रभाव, कमजोर व्यवस्थापन, बजार प्रवर्द्धनको कमी जस्ता कारणले उद्योग बन्द हुन पुगेको उनको भनाइ छ ।
उनले लगानी र नयाँ प्रविधि भित्र्याएर भए पनि उद्योग सञ्चालन गर्नुपर्ने बताए । गोरखाका राजनीतिकर्मी, व्यवसायी लगायत जनसाधारणले लामो समयदेखि सो उद्योग सञ्चालनको माग गर्दै आएका छन् । गोरखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार श्रेष्ठले उद्योग चलाउने विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यानाकर्षण गराइएको बताए ।
‘सरकारले नीति तथा कार्यक्रममार्फत उद्योग पुनः सञ्चालन गर्ने घोषणा गरेपछि गोरखाका उद्योगी व्यवसायी खुसी छौँ, हामीले पटकपटक यो माग राख्दै आएका थियौँ । अब निर्णय कार्यान्वयनमा ढिलाइ नहोस्,’ उनले भने । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाबाट चुनाव लड्दा गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाएका थिए ।
गृहमन्त्री, गण्डकीका मुख्यमन्त्री, सभामुख लगायत उच्च पदमा गोरखाकै राजनीतिक नेतृत्वमा रहेकाले उद्योग सञ्चालनमा उचित पहलकदमी हुनेमा गोरखावासी आशावादी छन् । गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले उद्योग सञ्चालनका लागि संघीय सरकारसँग साझेदारी गर्न प्रदेश सरकार तयार रहेको बताए ।
‘हाम्रै प्रदेशमा पर्ने भएकाले प्रदेश सरकारको पनि यसमा स्वाभाविक दायित्व रहन्छ,’ उनले भने, ‘प्रदेशमा उद्योगधन्दाको विकास र स्थानीय उत्पादनको प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकतामा छ ।’ मन्त्री थापामगरले रोजगारी वृद्धिसँगै राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ पार्न बन्द अवस्थामा रहेका सबै स्वदेशी उद्योग पुनः सञ्चालनमा ल्याउनुपर्ने उल्लेख गरे ।
‘अहिले अर्थतन्त्रमा जे समस्या देखापरेको छ । यसको समाधानका लागि आफ्नै स्रोत, सीप र प्रविधिमा आधारित उद्योगधन्दा खोल्नुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ,’ उनले भने । सरकारले गोरखकाली रबर उद्योगसँगै हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखाना पुनः सञ्चालनको घोषणा गरेको हो । लामो समयदेखि बन्द तथा रूग्ण अवस्थामा रहेका उद्योग सञ्चालन, खारेजी, एकीकरण वा व्यवस्थापनका विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समितिसमेत गठन गर्ने सरकारको तयारी छ ।
सत्यपाटी संवाददाता । गण्डकी