सूचनाको शक्ति - The Power Of Information

        

‘पत्रकार’को मोबाइलले आइजिपीलाई अर्को तनाव

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले नागरिकबाट प्रशंसा कमाइरहेका बेला संगठनको नेतृत्वकर्ता प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर भने यतीबेला तनावमा छन् ।

विगतमा पक्राउ परेका अभियुक्तलाई छाडेको र अहिले पनि बालकृष्ण खाणलाई जोगाउने प्रयास गरेको आरोप उनीमाथि छ । यो विषयमा उनीमाथि पनि छानबिनको माग उठिरहेको छ । यद्यपी उनले यसको खण्डन गरेका छन् ।

कुँवर यहीबेला अर्को तनावमा पनि छन् । कुँवर निकट मानिने आफुलाई पत्रकार भनेर चिनाउने मदनबाबु भण्डारी पनि यतीबेला प्रहरी हिरासतमा छन् । आइजिपी कुँवरसँगै गुल्मी र अर्घाखाँची फर्कदा उनी पक्राउ परेका थिए ।

उनीमाथि प्रहरीकै कागजपत्र समेत कीर्ते गरेको आरोप लागेको छ । बानेश्वर वृत्तले उनलाई मुद्दा चलाउने तयारी गरिरहेको छ । आइजिपीलाई समेत थाहा नदिई काठमाडौं परिसरको टोलीले भण्डारीलाई पक्राउ गरेको हो ।

भण्डारीको मोबाइल परीक्षणमा पठाइएको छ । उनको मोबाइलबाट आइजिपीसँगकै निकटस्थ सम्बन्ध देखिने प्रमाण भेटिने जोखिम छ । जसकारण आइजिपी कुँवर अर्को तनावमा छन् ।

पत्रकारको आवरणमा दलाली गर्ने आरोप लागेका भण्डारीसँग आइजिपीको अस्वभाविक सम्बन्धको प्रमाण बाहिर आउने भएपछि कुँवर अर्को तनावमा परेको प्रहरी प्रधान कार्यालयका एक अधिकारी बताउँछन् । भण्डारीको मोबाइलबाट कुँवर मात्र होइन अन्य धेरै प्रहरी अधिकृतसँग भण्डारीका लेनदेनका कुरा आउने सम्भावना छ ।

स्रोत : दृष्टि न्यूज
प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार ०६:५०