सूचनाको शक्ति - The Power Of Information

        

नेपालीले बनाएको रकेट अमेरिकामा उडाइने

नेपाली युवा वैज्ञानिकले निर्माण गरेको रकेट अब अमेरिकाको द न्यू मेक्सिकोबाट उडाइने भएको छ । अमेरिकामा हुने ‘स्पेस स्पोर्टस् कप २०२३’ को लागि नेपालको प्रतिनिधित्व गर्दै एस्ट्रल स्पेस रिसर्च नेपालले नेपाली युवाले निर्माण गरेको रकेट उडाइने भएको हो । जुन १९ देखि २४ सम्म अमेरिकाको द न्यू मेक्सिकोमा उक्त कप हुनेछ ।

ब्लु ओरिजिन नामक संस्थाले प्रत्येक वर्ष आयोजना गर्ने उक्त कपमा १३५ देशमध्ये २४ स्थानमा नेपाल पनि पर्न सफल भएको छ । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै रिसर्च नेपालका अध्यक्ष शिशिर जोशीले भने, ‘हामी १३५ देशबाट छानिएर २४ मा परेका छौँ । नेपालीले पनि रकेट वा स्पेससम्बन्धी अध्ययन गरेर आफूलाई अब्बल साबित गराउन सफल भएका छौँ । यो नेपाल र नेपालीका लागि गौरवको विषय हो ।’

उनले यो आयोजनामा ९० लाख रुपैयाँ खर्च भइसकेको जानकारी दिँदै आगामी यात्राका लागि आर्थिक अभाव भएको बताए । जोशीले भने, ‘हामीलाई अमेरिकासम्म पुग्न खर्च र भिसा लगायतको समस्या छ । यो प्रोजेक्टमा हामीले विभिन्न निकायबाट सहयोग पाउने प्रतिबद्धता पाए पनि सहयोग पाएका छैनौँ ।’

नेपालबाट प्रतिनिधित्व गरेर सहभागी हुने भएकाले यस विषयमा बृहत् रुपमा जानकारी गराउन जेठ ९ देखि १४ सम्म काठमाडौँस्थित सीबीएम कलेजमै ‘आकाश छुने सपना, नेपालको रकेट’ प्रदर्शनी आयोजना गर्न लागिएको उनले जानकारी दिए । आयोजना हुने प्रदर्शनी प्रोजेक्टका लागि सहयोगी हुने विश्वास सीबीएम कलेजका अध्यक्ष सुमन न्यौपानेले व्यक्त गरे ।

उनले भने, ‘प्रदर्शनीको उद्देश्य नै सहयोगी भावना बोकेकालाई जोड्ने हो । नेपाली वैज्ञानिकको रकेटसम्बन्धी खोज र अनुसन्धानलाई सहयोग र सहकार्यमा हामी झैँ अझै सङ्ख्या बढाउनु आवश्यक छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन नेपाली वैज्ञानिकलाई प्रोत्साहित गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्दैछौँ ।’

उनले नवीन प्रविधिका क्षेत्रमा भइरहेका खोजअनुसन्धानलाई प्रवर्द्धन गर्दै नेपालको शिर उँचो राख्ने नेपाली वैज्ञानिकको भावनालाई नेपाल सरकारले पनि आत्मसात् गर्नुपर्ने धारणा राखे । डा निकोलस भुसालले नेपालले अन्तरिक्ष सम्बन्धी विषयमा ध्यान दिनु जरुरी रहेको बताए ।

‘सहयोग नहुँदा हुँदै पनि भइरहेको विषयमा सरकारसँगै नेपालीले चासो दिनुहोस् भन्ने हाम्रो माग हो । नेपालमा विज्ञानको विषयमा धेरै काम गर्न सकिन्छ । यसलाई हाम्रो सहभागिताले पनि प्रस्ट्याएको छ,’ डा भुसालले भने । उनले अन्तरिक्ष समबन्धी ऐन नै बनाएर युवालाई प्रोत्साहित गर्नसमेत आग्रह गरे ।

इन्जिनियर शिशिर जिसीको नेतृत्वमा नेपालमा रकेटको क्षेत्रमा अनुसन्धान र विकासमा काम गरिरहेका युवा वैज्ञानिकको सहभागितामा रकेट बनाइएको हो । सो रकेट करिब १० महिनामा निर्माण भएको हो । पछिल्लो समय नेपालमा प्रविधिको विकास तिव्र गतिमा भइरहेको अवस्थामा यस्ता अवसरले नयाँ पुस्तालाई थप सहयोग र हौसला प्रदान गर्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार १५:२२