सूचनाको शक्ति - The Power Of Information

        

रविको सांसद पद खारेज गर्न माग गर्दै सर्वाेच्चमा फेरि मुद्दा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहितको रिट निवेदन सर्वोच्च अदालतमा फेरि दर्ता भएको छ ।

लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज गरिपाउँ भनेर युवराज पौडेलले पेस गर्नुभएको रिट निवेदन दर्ता भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

लामिछानेविरुद्ध पेस भएको रिट सर्वोच्च अदालतले आज बुधवार दर्ता गर्दै जेठ १७ गते पेसी तोकेको छ । रिटमा लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज गर्ने आदेशको माग गरिएको छ ।

लामिछानेले अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्त गर्नुपर्नेमा पुरानै नागरिकताको प्रतिलिपिमात्रै लिएको दाबी गर्दै युवराज पौडेलले अर्को मुद्दा दर्ता गराउनुभएको अदालतका प्रवक्ता पौडेलले बताउनुभयो ।

यसअघि नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि उहाँको सांसद र उपप्रधानमन्त्री पद गुमेको थियो । पुरानो नागरिकता फेरि लिएपछि उहाँ उप–चुनावबाट प्रतिनिधि सभामा पुनः निर्वाचित हुनुभएको छ ।

अमेरिकी नागरिकता त्याग गरेपछि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको सर्वोच्च अदालतले ठहर गरेपछि गएको माघमा उहाँले पुनः आफ्नो पुरानो नेपाली नागरिकता बिउँताउनुभएको थियो ।

पौडेलले नै यसअघि पनि लामिछानेविरुद्ध उहाँले नेपाली नागरिकता पुनः प्राप्ति नगरेको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनुभएको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १७:२८