सूचनाको शक्ति - The Power Of Information

        

जलविद्युतमा फड्को

सुर्खेतको पश्चिमबाट राष्ट्रिय प्रशारणमा जोडिँदै ५३ किलोवाट विद्युत

२०६५ सालमा खमारी खोला जलविद्युत आयोजनाले विद्युत उत्पादन थालेको थियो ।

५३ किलोवाट क्षमताको खमारी खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न आवश्यक प्रक्रिया थालिएको छ । २०६८ सालबाट सुर्खेत पश्चिमको बाबियाचौर क्षेत्रमा विद्युत वितरण गर्दै आएको यस आयोजनाबाट उत्पादित विद्युतलाई नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय लाइनमा लैजान भएको हो ।

बाबियाचौरमा विद्युतको राष्ट्रिय प्रशारण लाइन पुगेसँगै खमारी खोला जलविद्युत आयोजनाबाट उत्पादित ५३ किलोवाट क्षमताको विद्युत भने राष्ट्रिय प्रशारण लाइनमा जोड्न आवश्यक प्रक्रिया थालिएको खमारी खोला जलविद्युत आयोजनाका व्यवस्थापक पदमबहादुर बुढाले जानकारी दिए । यहाँका अन्य स्थानीय जल विद्युत आयोजना बन्द भएका छन् ।

तीन स्थानबाट विद्युत उत्पादन गरेर बावियाचौर र आसपासका क्षेत्रहरुमा विद्युत सेवा दिइरहेका साना जलविद्युत बन्द गरिएको पनि बुढाले बताए । २० किलोवाट माथिका आयोजनाहरु राष्ट्रिय प्रशारणमा जोड्न सकिने संकेत विद्युत प्राधिकरणले दिएपछि आवश्यक संरचना थप्ने गरी त्रिपक्षिय सम्झौता गरिएको छ ।

२०६५ सालमा बावियाचौर लघु जलविद्युत सहकारीमार्फत खमारी खोला जलविद्युत आयोजनाले विद्युत उत्पादनको काम थालेको थियो । यहीँ खोलाबाट थप दुई ओटा आयोजना पनि त्यसपछि निर्माण गरिएको थियो । तर पछि छुट्टाछुट्टै निर्माण गरिएका दुई आयोजनाबाट विद्युत उत्पादन कम भएपछि बन्द गर्ने तयारी ती आयोजनाले जनाएका छन् ।

‘तत्काल विद्युतको राष्ट्रिय लाइन बावियाचौर बजारको उत्तर र पूर्वतर्फका गाउँमा विस्तार नहुँदा केही समयसम्म सञ्चालन रहन्छन्,’ खमारी खोला जलविद्युत आयोजनाका व्यवस्थापक पदमबहादुर बुढाले भने, ‘५३ किलोवाटको आयोजनालाई नेट मिटरिङमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोड्न आवश्यक पूर्वाधार निर्माणका लागि सम्झौता गरेर टेण्डर गरिसकेका छौं ।’

राष्ट्रिय लाइनमा जोड्न नेपाल विद्युत प्राधिकरणका कर्णाली प्रदेश प्रमुख शम्भु कुसियत यादव, खमारी खोला लघु जलविद्युत आयोजनाका अध्यक्ष सुरेन्द्रबहादुर शाही र बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता गरिएको छ । तर राष्ट्रिय प्रशारण लाइनमा जोड्न आवश्यक सबै पूर्वाधार निर्माणको खर्च भने आयोजना र बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले खर्च व्यहार्ने उल्लेख छ ।

लागत खर्चमा आयोजनाको २२.३५ प्रतिशत र केन्द्रको ७७.६५ प्रतिशत लगानी रहनेछ । आयोजनाले १४ लाख र केन्द्रले ४८ लाख ६२ हजार ९३१ रुपैयाँ रहेको आयोजनाका व्यवस्थापक बुढाले बताए । विद्युतको राष्ट्रिय लाइनमा स्थानीयस्तरमा उत्पादन विद्युत जडान गर्न २० किलोवाटभन्दा माथि उत्पादन क्षमता हुनुपर्छ ।

खमारी खोला जलविद्युतको पूर्णकालिन क्षमता ५३ किलोवाट हो । तर सुख्खा मौसममा ३५ देखि ४० र वर्षायाममा ५० किलोवाट विद्युत उत्पादन गरिरहेको छ । ‘राष्ट्रिय प्रशारण लाइनका लागि हाम्रो क्षमता पुगेको छ । तर केही संरचनाहरु थप्नुपर्ने देखिएको छ,’ खमारी खोला लघु जलविद्युत आयोजनाका अध्यक्ष सुरेन्द्रबहादुर शाहीले भने ।

उनका अनुसार केही महिनामा नेट मिटरिङ सिस्टमका लागि आवश्यक पूर्वाधार निर्माण गरेर प्राधिकरणलाई विद्युत विक्री गर्ने गरी काम थालेको छ । आयोजनाले विद्युत विक्री गरेपछि खपतका आधारमा प्राधिकरणले शुल्क दिनेछ । करिव ४०० घरधुरीमा करिव ११ वर्षसम्म बावियाचौर क्षेत्रका उज्यालो दिएको चौर खोला जलविद्युत आयोजना बन्द गरिएको छ ।

२४ किलोवाट क्षमताको चौर खोला लघु जलविद्युतपछि बाबियौचारमा थप तीन वटा जलविद्युत सञ्चालनमा ल्याइएका थिए । खमारी खोला लघु जलविद्युत (क) बाट ५३ किलोवाट, (ख) १५ किलोवाट र (ग) बाट १० किलोवाट विद्युत उत्पादन गरिँदै आएको हो । तीन वटै आयोजनाबाट हाल करिव एक हजार ३८२ घरधुरी लाभान्वित छन् ।

यी आयोजनाबाट पञ्चपुरी नगरपालिकाको चनाली, भावर, बरैचे, डाव, सिद्धपुर, चत्तुरे, चनाली, लाटीकाँडा, सालकोट लगायतमा सेवा दिइरहेको छ । ‘वर्षौंसम्म पश्चिमका नागरिक विद्युतको राष्ट्रिय पहुँच बाहिर थिए । ‘स्थानीय स्रोत साधनको उपयोगबाट जनतालाई सेवा गर्ने मौका पायौं,’ खमारी खोला जलविद्युत आयोजनाका अध्यक्ष शाहीले भने ।

उनका अनुसार स्थानीय उत्पादनले ठूलो कलकरखाना प्रयाप्त चलाउन सकस थियो । टुक्कीको सहारामा दैनिक गुजार्न बाध्य यहाँका नागरिकहरुलाई सकेसम्म उज्यालो बनाउने कोशीस गरेका थियौं । ढिलै भए पनि राष्ट्रिय प्रशारण लाइन जोडिएको छ, यसले केही थप आशा र उत्साह थपिदिएको छ,’ आयोजनाका अध्यक्ष शाहीले भने ।

हाल प्राधिकरणले खमारी खोला र चौर खोला आयोजनाबाट विद्युत प्रवाह भइरहेका पोल र तारबाट बावियाचौर आसपासमा विद्युत लाइन सुचारु गरेको छ । सुर्खेत पश्चिमकै विद्यापुर र लगाममा साना लघु जलविद्युत र गुटुमा सोलार प्यानलबाट विद्युतको पहुँच पुर्याइएको छ । लगामको तालागाउँमा २२ किलोवाट विद्युत उत्पादनका लागि सर्भे भइरहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १६:४४