सूचनाको शक्ति - The Power Of Information

        

सेटिङमा करोडौं राजस्व छली

केरुङको तस्करीमा सुरक्षा निकायको पनि संलग्नता

भन्सार यार्डबाट छुटेको गाडी १७ किलोमिटर टाढा पुगेपछि फर्काइएको र सशस्त्रले यार्डमा प्रवेश गराएको थियो ।

केरुङ भन्सारका कर्मचारीहरु ब्यापारीहरुसँग सेटिङ गरी करोडौं राजस्व छलीमा सरीक हुने गरेका छन् । केरुङको तस्करीमा सुरक्षा निकायको पनि संलग्नता हुने गरेको छ । कर्मचारी, ब्यापारी र सुरक्षा निकाय मिलेर कसरी तस्करी गर्दा रहेछन् भन्ने कुराको पछिल्लो उदाहरण रसुवाको केरुङ भन्सार कार्यालयबाट भएको तस्करीले पुष्टि गरेको छ ।

रसुवा भन्सार कार्यालयबाट महंगा ब्रान्डेड सामान ल्याउने र भन्सारमा भने सस्तो सामान ल्याएको भन्सार शुल्क तिरी ब्यापारीसँग मिलेर करोडौं राजस्व हिनामिना गर्ने कार्य हुँदैआएको गुनासोपछि भन्सार विभागले चीनबाट आयात गरिएको जुत्ता, भेष्ट लगायतका सामान बोकेका ट्रक बरामद गरेको छ ।

अवैधरुपमा महँगा चिनियाँ रक्सीसमेत लुकाएर नेपाल छिराइएका ती कन्टेनर ६०० बोरा ब्रान्डेड कस्मेटिक सामग्रीले भरिएका थिए । तर, बालबालिकाको जुत्ता–कपडा ल्याइएको प्रज्ञापनपत्र बनाई न्यून राजस्व तिरेर छुटाइएका थिए । ती कन्टेनर भन्सार यार्डबाट चिलिमे जलविद्युत आयोजनास्थल आइपुग्दा विभागको टोली रसुवा आउँदै गरेको सूचना लिक भएपछि चोरबाटो हुँदै रातारात दुबै कन्टेनरलाई पुनः भन्सारमा पुर्याइएको थियो ।

तर पनि उक्त घटनालाई राजनीतिक उपल्लो तहदेखि अर्थ मन्त्रालयसम्मको मिलेमतोमा ढाकछोप गर्नका निम्ति बरामद भएका सामानको २०० प्रतिशत जरिवाना तिराई तस्करीमा संलग्न कर्मचारीलाई पुनः रसु्वामै पठाउने प्रपन्च रचिएको छ ।रसुवा भन्सार कार्यालयबाट बिहीबार छुटेका ट्रकहरु पुनः फर्काएर भन्सारको यार्डमै लैजानका लागि सशस्त्र प्रहरीले समेत साथ दिएको देखिएको छ ।

सशस्त्र प्रहरीको साथ र सहयोगविना मध्यराति उक्त गाडी पुनः भन्सार यार्डमा प्रवेश गर्न संभव छैन ।तस्करी प्रकरणपछि काठमाडौं तानिएका रसुवा भन्सार कार्यालयका अधिकृत बलराम भण्डारी र नायब सुब्बा इन्दु शर्मा कांग्रेस निकट निजामती कर्मचारी युनियनका भएकाले अर्थमन्त्री डा.प्रकाशशरण महतले पुनः उनीहरुलाई रसुवा भन्सारमा फर्काउनका लागि दबाब दिइरहेका छन् ।

भन्सार विभागले भन्सार कार्यालय रसुवाका प्रमुख भन्सार प्रशासक नारायणप्रसाद भण्डारीलाई कारबाहीका लागि अर्थमन्त्रालयमा लेखी पठाएको छ । तर अर्थमन्त्रालयले उनलाई तानेको छैन । ट्रेड युनियनको आडमा रसुवा भन्सारमा सरुवा भएका इन्दु शर्माले नै बासु बस्नेतसँग सेटिङ मिलाएर तस्करीको लाइन चलाउँदै आएका छन् ।

बिराटनगर भन्सारबाट तस्करीको लाइन चलाएका बस्नेतको सामान बरामद भएपछि भन्सार प्रमुख तारा सापकोटा तानिएका थिए । उनी तानिएपछि उक्त नाकाबाट बस्नेतले तस्करी गराउन सकेनन् । इन्दु शर्मासहितको तस्करीको सेटिङमा सशस्त्र प्रहरी बल भन्सार गुल्म रसुवाका प्रमुख डीएसपी पंकज चन्दको समेत मिलेमतो छ । भन्सार यार्डबाट छुटेको गाडी १७ किलोमिटर टाढा पुगेपछि फर्काइएको र सशस्त्रले यार्डमा प्रवेश गराएको थियो ।

बासु बस्नेत, अमृत कार्की र नवराज तिमल्सिना संलग्न अमरदेव इन्टरप्राइजेजले उक्त एकैदिन भित्र्याएको सामानमा साढे ४ करोड राजस्व छली गरेको भन्सार विभागको बुझाइ छ । उनीहरुले सो दिन बा २ ख १७९३, ना ६ ख ५३७२ को गाडीमा ब्रान्डेड सामान काठमाडौं भित्र्याउँदै गर्दा भन्सार बिभागको टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुले सेटिङ गरी विगत लामो समयदेखि यसैगर ितस्करी करोडौं भन्सारछली गर्दै आएका थिए ।

यस बिषयमा प्रतिक्रिया लिन अमरदेव इन्टरप्राइेजजका सञ्चालक अमृत कार्कीले भने, ‘अमरदेव इन्टरप्राइजेजमा मेरो नाममात्र जोडिएको हो, उक्त प्रकरणमा को को संलग्न छन् । मलाई थाहा छैन ।’ ट्रक खानतलासी गर्दा भन्सारमा जुत्ता (बेबी सुज), भेष्ट (चाइल्ड भेष्ट) भनेर न्यून राजस्व तिरी कस्मेटिक आइटम, जिन्स पाइन्ट, ब्रान्डेड जुत्ता र ब्रान्डेड भेष्ट सहितका सामान नेपाल भित्र्याएको फेलापरेको थियो ।

अमरदेव इन्टरप्राइजेजले भ्याट नम्बर ३०११३६४८८००१५९ एनपी, प्रज्ञापनपत्र नम्बर १८९१, १८८९ बाट जिन्स पाइन्ट, कस्मेटिक, जुत्ता लगायतका बिभिन्न ब्रान्डेड सामान कर्मचारीको मिलेमतोमा अति न्यून भन्सार शुल्क तिरी भित्र्याएको थियो । स्मरण रहोस्, उक्त नाकाबाट ब्यापारी बस्नेत लगायतका कम्पनीले इलेक्ट्रोनिक सिगरेट, रेडिमेड, कस्मेटिक लगायतका सामानहरु भन्सारका कर्मचारीको मिलेमतोमा तस्करी गरी काठमाडौं भित्र्याउने गरेका छन् ।

यस घटनामा राजस्व अनुसन्धान विभागको मौनता त प्रष्ट देखिन्छ नै । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले सामानको गलत घोषणा गरी आयात गरिएको सूचना पाएपछि छड्के जाँच गरेको थियो । उक्त भन्सार छली कार्यमा कर्मचारीको संलग्नता प्रष्ट देखिएपछि एक भन्सार अधिकृत र एक नासुलाई हामीले कारबाहीका लागि बिभागमा तानिसकेको र कार्यालयको प्रमुखको हकमा मन्त्रालयमा कारबाहीका लागि लेखेर पठाएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १६:१०