सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोटका स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबविहीन

जाजरकोटको भेरी नगरपालिका जाजरकोटमा स्थायी र अस्थायी गरी एक सय ७८ जना कर्मचारी कार्यरत छन् । नगरपालिकाका स्वास्थ्यतर्फका कर्मचारीले गत माघदेखि तलब बुझ्न पाएका छैनन् ।

‘तलबका लागि दिनदिनै कर्मचारीहरुले ताकेता गरिरहेका छन्, खातामा पैसा नभएपछि कसरी तलब निकासा गर्ने,’ भेरी नगरपालिका लेखापाल राजेन्द्रबहादुर कठायतले भने, ‘कर्मचारीलाई आर्थिक मन्दी देखाएर कति दिन झुलाउने हो ।’

लेखापाल कठायतकाअनुसार नगरपालिकामा स्वास्थ्यतर्फका स्थायी ४१ जना संघीय सरकारको सशर्त अनुदानबाट तलब खाने गरी नियुक्त ६ जना करार र नगरपालिकाको स्रोतबाट तलब खाने २८ जना करार गरी ७५ जना कर्मचारीहरुले विगत पाँच महिनादेखि तलब नपाएको विषयमा स्वास्थ्य मन्त्रालयमा समेत पत्राचार गरिसकेको छ ।

भेरी नगरपालिाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले समयमा तलब नपाउँदा कर्मचारीलाई घर खर्च चलाउनसमेत समस्या भएको बताए । उनले भने, ‘स्वास्थ्य शाखाका कर्मचारीहरु बढी मर्कामा परेका छन् ।’ संघीय सरकारबाट प्राप्त शसर्त अनुदानको रकम पनि हालसम्म प्राप्त हुन नसकेको र नगरपालिकाको खातामा समेत तलब खुवाउनका लागि बजेट नभएपछि समस्या भएको उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत जैसीले थपे, ‘स्वास्थ्यतर्फका ७५ जना कर्मचारी रहेकामा केही कर्मचारी नगरको आवश्यक दरबन्दीभन्दा बढी भएकाले पनि मन्त्रालयबाट आउने निकासामा रोकिएको बुझिएको छ ।’ चालु आर्थिक वर्षको ०८० माघदेखि ०८१ असारसम्म स्वास्थ्य तर्फका कर्मचारीलाई तलब एक करोड ६१ लाख आवश्यक पर्ने हुन्छ । तर अहिले नगरपालिकाको खातामा ३३ लाख मात्र संचित रहेको उनले बताए ।

उनले यस विषयमा छलफल भइरहेको जानकारी दिँदै भने, ‘स्थानीय तहमा सशर्त र राजस्व बाँडफाडतर्फको बजेटबाट कर्मचारीलाई तलब दिइन्छ ।’ नगरपालिकाको संकलित राजश्व संकलनको संघीय सरकारबाट प्राप्त हुने बजेटमा समेत करिब ४० प्रतिशत रकम घटेर आउने भएपछि पनि कर्मचारीहरुलाई तलब खुवाउन नसकिएको नगरापालिकाका लेखापाल कठायतले बताए ।

नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निशा थापाले अधिकांश कर्मचारीले दैनिकी चलाउन बैंकबाट कर्जा लिएकाले महिनौंसम्म ब्याजको झमेलामा पर्नु परेको बताए । ‘बैंकको ब्याज बढेर अब आउने तलबले पनि नपुग्ने अवस्था हुन थाल्यो,’ उनले भने, ‘अहिले त पसलेहरुले पनि दैनिक उपभोग्य सामग्री र खाद्यान्न उधारोमा दिन पनि छोडे ।’ भेरी नगरपालिकामा कार्यरत स्वास्थ्य शाखाका कर्मचारीमात्र नभई यो स्वास्थ्यतर्फको देशैभरको समस्या छ ।

यससँगै भेरी नगरपालिकामा स्वास्थ्यका सँगसँगै कृषि, पशु, शिक्षा र अन्य प्रशासनिक कर्मचारीको समेत तलब केही महिनादेखि रोकिएको छ । स्वास्थ्यतर्फ विगत पाँच महिना, कृषि र पशुका कर्मचारीको विगत दुई महिना, शिक्षातर्फका कर्मचारीको विगत तीन महिना र अन्य प्रशासनिक कर्मचारीले विगत तीन महिनादेखिको तलब भुक्तानी गर्न बाँकी रहेको भेरी नगरपालिका लेखापाल कठायतले बताए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १४:०३