सूचनाको शक्ति - The Power Of Information

        

पूर्व गृहसचिवले पचाए ५० लाख

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान सकेपछि धेरै व्यक्तिलाई हाइसञ्चो भएको छ । बिचौलियाबाट फाइदा लिएका तर प्रहरी अनुसन्धानबाट जोगिएका दर्जन व्यक्तिहरू सोमबारदेखि तनावमुक्त भएका छन् ।

यसरी जोगिनेमध्ये केपी शर्मा ओलीका विश्वास पात्र पूर्व गृहसचिव महेश्वर न्यौपाने हुन् । उनले बिचौलिया समूहबाट करिब ५० लाख लिएको प्रहरी अनुसन्धानमा देखिएको छ । पक्राउ परेका सानु भण्डारीको डायरीमा सो विवरण उल्लेख छ ।

तर, नगद पैसा लेनदेन भएकाले बलियो प्रमाण जुटाउन प्रहरीले सकेन । जसकारण पैसा पचाउन न्यौपाने सफल भएका छन् । बालकृष्ण पन्थी नेतृत्वको प्रतिवेदन कार्यान्वयनमा सघाउने भन्दै उनले पैसा लिएका थिए ।

तर, लामो समय प्रतिवेदन मन्त्रिपरिषद्मा रोकिएको थियो । मन्त्रिपरिषद्लाई देखाउँदै उनले बिचौलियाहरुलाई प्रधानमन्त्री कार्यालयबाट निर्णय आएपछि काम गरिदिने आश्वासन दिने गर्दथे । न्यौपाने महेश बस्नेतनिकट मानिन्छन् ।

पछि, सरकार फेरिएपछि उनी पर्यटनसचिव हुँदै अवकाश पाएका थिए । केपी ओलीका खास मान्छे भएकाले उनले गृहसचिव पाएका थिए । तर, शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा पनि पर्यटनसचिव हुने अवसर पाएका थिए ।

न्यौपाने धनाढ्य कर्मचारीमध्ये एक मानिन्छन् । भक्तपुर स्थायी घर भएका उनको बालुवाटारमा आलिसान घर किनेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हुँदा एक काम गरिदिएवापत बालुवाटारको जग्गा सित्तमै पाएको र त्यही घर बनाएको स्रोत बताउँछ ।

‘उहाँको बालुवाटारस्थित जग्गाको स्रोत खोज्यो भने सबैधन्दा थाहा हुन्छ,’ अख्तियारका एक कर्मचारी भन्छन्, ‘गृहमा हुँदा पनि अनेक उजुरी परेका थिए ।’

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १३:२०