उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रचण्ड सरकारका सबैभन्दा लोकप्रिय मन्त्रीका रुपमा चर्चामा छन् । सुराकीको पैसा खारेजदेखि नक्कली भुटानी शरणार्थी प्रकरणसम्म उनको अडानको प्रशंसा भइरहेको छ ।
तर, उनी निकटका केही व्यक्तिहरू अनेक चलखेलमा संलग्न छन् । सचिवालयका व्यक्ति तथा आफन्तहरू प्रहरीको सरुवा–बढुवामा लागेको स्रोतले बताएको छ । उनका दाई मानकाजी श्रेष्ठ भन्ने व्यक्तिबाट प्रहरी अधिकारी हैरान भएका छन् ।
मानकाजीले नियमविपरीत काम गर्न दबाब दिने गरेको प्रहरी अधिकारी बताउँछन् । पछिल्लो समय अनामनगरको एक रेष्टुरेन्टको विषयलाई लिएर गृहमन्त्रीका दाई मानकाजीले प्रहरीलाई दबाब दिएका छन् ।
भाडा विवाद लगायतका कारण अनामनगरको हनुमानस्थानस्थित क्विन्स् किचेन रेष्टुरेष्टलाई एक वर्षअघि महानगरले बन्द गराएको थियो । दुई वर्षदेखि शक्तिको आडमा भाडा नतिरी सुजाता कोइरालाका पूर्व पिए भरत सापकोटा लगायतले सो रेष्टुरेन्ट चलाउँदै आएका थिए ।
महानगरपालिकाले बन्द गराएपछि उनीहरु अदालत गएका थिए । तर, आफु अनुकुल फैसला भएन । अहिले गृहमन्त्रीका दाई मानकाजीलाई प्रयोग गर्दै शक्तिको दुरुपयोग गरी सो रेष्टुरेन्ट चलाउने उनीहरुको प्रयास जारी छ ।
त्यसका लागि गृहमन्त्रीका दाई मानकाजीमार्फत उनीहरुले विभिन्न निकायमा दबाब दिइरहेको स्रोत बताउँछ । जसकारण दाईका कारण गृहमन्त्री पनि विवादमा पर्न थालेका छन् । गृहमन्त्री श्रेष्ठ आफन्तबाट जोगिन सकेनन् भने बदनाम हुने बाटोमा लाग्ने छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं