सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको बैजनाथमा मात्रै १० हजारभन्दा बढी भूमिहीन सुकुम्वासी

बाँकेको एउटै गाउँपालिकामा १० हजारभन्दा बढी भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासी छन् भन्दा कमैलाई विश्वास लाग्ला तर यो वास्तविक देखिएको छ ।

जिल्लाको बैजनाथ गाउँपालिकामा मात्र १० हजार ३३९ जना भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासी रहेका पाइएको छ । गाउँपालिकाले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीको सही सङ्ख्या पत्ता लगाउन गरेको लगत सङ्कलनबाट सो सङ्ख्या पत्ता लागेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले भूमि आयोग बाँकेको समन्वयमा पालिकाभरिको लगत सङ्कलन गर्दा १० हजार ३३९ जना भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासी रहेका पाइएको बताए ।

उनले विभिन्न चरणमा गाउँपालिकाका आठ वटै वडामा लगत सङ्कलन गरिएको जनाउँदै सो कार्यका लागि भूमि आयोग, गाउँपालिकाका प्राविधिक तथा नापीका कर्मचारीलाई परिचालन गरिएको बताए ।

गाउँपालिकाका अनुसार सङ्कलन गरिएको लगतमा देखिएका १० हजार ३३९ जना भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीमध्ये भूमिहीन सुकुम्वासी एक हजार ६३९, भूमिहीन दलित ९३५ जना र अन्य अव्यवस्थित बसोबासी सात हजार ७६५ जना छन् ।

बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले सो लगतमा अझै पनि कोही छुटेका छन् भने उनीहरूलाई फेरि पनि समावेश गराउने योजना गाउँपालिकाको रहेको बताए । उनले लालपुर्जा वितरणका लागि स्थानीय सरकारका तर्फबाट नापी र मालपोतका काम अगाडि बढाइएको पनि बताए ।

अध्यक्ष शाहीले भने, ‘सही र वास्तविक भूमिहीन तथा सुकुम्वासी पहिचान गरेर उनीहरूलाई छिट्टै लालपुर्जा वितरणको तयारीमा जुटेका छौँ । यसमा सबैको सहयोग आवश्यक छ ।’ उनले यो समस्या सधैँका लागि समाधान गर्ने सोचका साथ भूमि आयोगसँग समन्वय गरेर काम गरिरहेको बताए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार ०६:४३