नेपाली कथानक चलचित्र ‘डाकिनी’ नेपालमा बनेको सबैभन्दा महंगो चलचित्र भएको छ । साढे नौ करोडमा बनेको यो चलचित्र हालसम्म बनेको नेपालको महंगो सिनेमा हो । यसअघि २०७६–०७७ मा चलचित्र विकास बोर्डमा दर्ता भएको चलचित्र ‘नालापानी’को लगानी ११ करोड रुपैयाँ रेकर्डमा देखाएको थियो ।
तर, त्यसमा त्यति लगानी नरहेको ‘नालापानी’का निर्देशक रिमेश अधिकारीले स्पष्ट पारे । ‘नेपाली सेनाले तीन–चार करोड रुपैयाँ बराबरको सहयोग गरेको थियो । तर, पनि ११ करोड भने खर्च भएको होइन,’ उनले भने, ‘यसको आधाको हाराहारीमा खर्च भएको होला । विकास बोर्डमा भएको दर्तामा सायद इन्ट्री गर्दा गल्ती भएको हुनुपर्छ ।’
‘डाकिनी’मा तीन करोड पारिश्रमिक लिने सिनेमेटोग्राफर मार्क ली को हुन् ?
खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)ले निर्देशन गरेको ‘डाकिनी’ क्राउड फण्डिङबाट लगानी जुटाएर बनाइएको हो । चीनमा ओपन गरिएको क्राउड फण्डमा एक घण्टामा साढे नौ करोड जम्मा भएको ‘डाकिनी’का कलाकार रवीन्द्रसिंह बानियाँले बताए । त्यसैले नेपाली लगानीकर्ता आफैँले पैसा हालेर निर्माण गरिएको सिनेमा भने यो पनि होइन ।
तर, नेपाली सिनेमा कम्पनीले भने बनाएको हो । यसका निर्माता म्याक्स (दिपेश खत्री) हुन् । षट्कोण आर्टसले बनाएको सिनेमा हो ‘डाकिनी’ । निर्देशक खिन्से ठूला बौद्ध धर्मगुरु पनि हुन् । नेपालका धेरैजसो चलचित्रको अहिलेको बजेट दुई करोडदेखि तीन करोड रुपैयाँ हो । यसमा सिनेमेटोग्राफरले तीन करोड रुपैयाँ पारिश्रमिक लिएका छन् ।
‘डाकिनी’ सिनेमेटोग्राफर मार्क ली पिङ बिङले खिचेका हुन् । ताइवानी सिनेमेटोग्राफर मार्क ली विश्वकै उत्कृष्ट सिनेमेटोग्राफरमध्येका एक हुन् । मार्क ली एकेडेमी अफ मोसन पिक्चर एन्ड साइन्सेज (ओस्कर अवार्ड)का सदस्यसमेत हुन् । ‘डाकिनी’ पनौती र ललितपुरको पाटनमा खिचिएको थियो ।
एभोकाडोजस्तो ‘डाकिनी’, सुरुमा कस्तो–कस्तो पछि मिठो !
चलचित्रको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेल छन् । भारतमा जन्मिएका यी दुवै कलाकार तिब्बती मूलका हुन् । नेपालका रवीन्द्रसिंह बानियाँ, दिव्यदेव, कर्मा लगायत कलाकारको अभिनय छ ।
सत्यपाटी संवाददाता । काठमाडौं