दैलेखकी २७ वर्षीया गमता (परिर्वतित नाम) १० महिने छोराकी आमा हुन् । पहिलो नानी सानो छँदै उनी गर्भवती भइन् । त्यसैले उनले गर्भपतन गराउने निर्णय लिइन् । गर्भपतनका लागि औषधि पाइन्छ भन्ने सुनेकी गमताले आफूले पनि औषधि सेवन गरेरै गर्भपतन गराउन पाए हुन्थ्यो भन्ने चाहना राखिन् । श्रीमानले गर्भपतनका लागि केही औषधि ल्याइदिए ।
ती औषधि तोकिएको विधिअनुरूप सेवन गरिन् । औषधि सेवन गरेको केही घण्टापछि औषधि पसलेले भनेझैँ रक्तस्राव हुन थाल्यो । गर्भपतन भयोे भनेर ढुक्क थिइन् उनी । तर, लामो समयसम्म रक्तस्राव रोकिएन । कमजोरी महसुस भयो, रगत पनि अत्यधिक बग्यो । उनी भित्रभित्रै डराउन थालिन् । चिन्तित हुन थालिन् ।
श्रीमान् लगायत घरका सबै आत्तिए । तार–हतार उनलाई अस्पताल पुर्याइयो । चिकित्सकले प्रारम्भिक परीक्षणपछि उनलाई तुरुन्त रगत दिनुपर्ने तथा गर्भ राम्ररी सफा भइनसकेकाले पाठेघर सफा पनि गर्नुपर्ने सल्लाह दिए । चिकित्सकका अनुसार उनी समयमा अस्पताल नपुगेको भए ज्यानै गुमाउनुपर्ने हुन्थ्यो ।
त्यस्तै सुर्खेतको बराहताल गाउँपालिका वर्ष १९ पानकली (परिर्वतित नाम)ले बिहे गरेको पाँच महिना मात्र भएको थियो । बच्चा जन्माउने इच्छा नहुँदा नहुँदै गर्भवती भइन् । गमताले जस्तै उनले पनि गर्भपतन गर्ने निधो गरिन् । तर उनका घरबाट अस्पताल पुग्न दुई घण्टा पैदल हिँड्नुपथ्र्यो । नजिकै भरपर्दो मेडिकल थिएन ।
दुई घण्टा हिँडेपछि मेडिकल भेटाएका उनीहरू साँझ घर फर्किए । पानकलीले मेडिकलवालाले भनेजस्तै औषधि सेवन गरिन् । औषधि सेवन गरेको केही घण्टामैै रक्तस्राव हुन थाल्यो । अत्यधिक रक्तस्राव हुन थालेपछि आत्तिन थालिन् । उनलाई पनि हतार–हतार अस्पताल पुर्याइयो । तुरुन्त रगत दिएपछि बल्ततल्ल ज्यान बच्न सफल भयो ।
गर्भपतन सम्बन्धी ग्रामीण ठाउँका सरकारी अस्पतालमा निःशुल्क औषधि पाउने भए तापनि अरूले थाहा पाउँछन् कि झैँ गर्ने, लाज मान्ने र सरकारी स्वास्थ्य संस्थामा विश्वास नगर्नाले मेडिकल नै धाउने गरेको पानकालीका श्रीमान् बताउँछिन् । सरकारी स्वास्थ्य संस्थामा जान लाज हुन्छ,’ उनले भनिन्,, ‘सरकारी स्वास्थ्य संस्थामा जान नमान्ने र मेडिकलमा विश्वास गर्ने भएकाले पनि मेडिकलमै गएका थियौँ । तर, पछि परिणाम नराम्रो आयो ।’
बाहिर औषधि सेवन गर्दा उपचार गर्दा पनि अहिले पनि विभिन्न समस्या ढाड दुख्ने, पाठेघर दुख्नेलगायतका समस्या रहेको उनी बताउँछन् । पहिले यस्ता समस्या कमै मात्र हुन्थे,’ उनले भनिन्, ‘गर्भपतनका लागि बाहिरको औषधि सेवन गरेपछि विभिन्न समस्या भोग्दै आएकी छु ।’ यी त केही प्रतिनिधि घटना मात्र हुन् । गर्भपतनका लागि उपलब्ध औषधि सेवन गरेर त्यसका जोखिम झेल्नेहरू दैलेखमा हजारौँ छन् ।
उनीहरूमध्ये कतिपय गम्भीर संकटमा समेत फसिसकेका छन् । सहज स्वास्थ्यको पहुँच नहुनु, विभिन्न बाध्यता र यससम्बन्धी शिक्षा नभएका कारण कर्णालीका गर्भवतीले यस्तै समस्या भोग्दै आएका छन् । प्रदेश अस्पताल सुर्खेतकोे तथ्यांकअनुसार २०७८–०७९ मा ३०० जना गर्भवतीले गर्भपतन गर्न बाहिरको औषधि सेवन गरेर प्रदेश अस्पतालमा उपचार गरी फर्केका छन् । यस्तै चालू आवको हालसम्म २४३ जना यसरी प्रदेश अस्पतालमा उपचार गरी फर्केका छन् ।
असुरक्षित गर्भपतनको मुख्य कारण शिक्षामा कमी
गर्भपतन रहरले गराउने होइन । यसका पछाडि विभिन्न बाध्यता हुने गरेको चिकित्सक बताउँछन् । गर्भ रहँदा र गर्भलाई हुर्कन दिँदा निम्तिने सम्भावित जटिलताले गर्दा धेरैले गर्भपतन गराउँछन् । गर्भपतन गराउने केही विधि प्रचलित छन् । ती सुरक्षित विधि हुन् । अहिले औषधि सेवनबाट समेत गर्भपतन गराउन सकिन्छ ।
तर, यसमा केही सतर्कता अपनाउनुपर्ने चिकित्सक सुझाउँछन् । असुरक्षित गर्भपतनको मुख्य करण शिक्षाको कमी भएको कर्णाली केयर हस्पिटलमा कार्यरत डा. सजिप्ता पन्त बताउनुहुन्छ । ‘गर्भपतन गर्ने चाहना वा बाध्यता धेरैको हुन्छ । तर त्यसमा पनि शिक्षाको कमी हो,’ डा. पन्त भन्छिन्, ‘यदि शिक्षाको कमी नभए उसले गर्भ निरोधकका उपाय अपनाउँछ ।’
कसैका बच्चा सानो भएको, कसैका सन्तानको रहर पुगिसकेको त कसैका छोराछोरी हुर्किसकेर ठूला भइसकेका, कसैको अध्ययन पूरा नभएको जस्ता सामाजिक तथा आर्थिक कारणले गर्दा गर्भपतन गराउनुपर्ने अवस्था हुन सक्ने चिकित्सकहरू बताउँछन् । नेपालको कानुनले नै १२ हप्तासम्मको सुरक्षित गर्भपतन गर्न अनुमति दिएको छ ।
तर अहिले १५ हप्ताभन्दा माथिको पनि औषधि सेवन गरेर गर्भपतन गर्ने गर्छन् । नेपाल सरकारमा सूचीकृत भएका संस्थाबाट गर्भपतन सम्बन्धी निःशुल्क सेवा लिन सकिन्छ । तर कतै सरकारी संस्थाको विश्वास नभएका कारण त कतै ग्रामीण भेगमा निःशुल्क सेवा पाइन्छ भन्ने ज्ञान नभएका कारण मेडिकलमा गएर एउटा ट्याबलेटको ६ सयदेखि २ हजार रुपैयाँसम्म तिरी गर्भपतन गर्ने गरेको कर्णालीका महिला बताउँछन् ।
के छ कानुनी मापदण्ड ?
गर्भपतन सेवा लिन कानुनी मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । गर्भपतन सेवा दिने संस्था र चिकित्सक वा स्वास्थ्यकर्मी दुवै सूचीकृत हुनुपर्छ । यस्तै सूचीकृत भएका वा मान्यता प्राप्त संस्थामा सुरक्षित गर्भपतन सेवाको लोगो राखिएको हुन्छ । सूचीकृत संस्थामा तालिमप्राप्त चिकित्सकबाट गरिएको गर्भपतनबाट हालसम्म एक जनाको पनि मृत्यु भएको छैन । एक प्रतिशतभन्दा पनि कममा मात्र सामान्य समस्या देखिने गरेको तथ्यांकले बताउँछ ।
औषधि पसलेहरू तथा सम्बन्धित स्वास्थ्यकर्मीबाहेकले यस्ता औषधिको बिक्री–वितरण गर्न नपाउनेसमेत नियम छ । तर केही औषधि पसले तथा अनधिकृत वा अयोग्य स्वास्थ्यकर्मीले क्षणिक आर्थिक लाभका लागि भारतीय बजारबाट ल्याएका कमसल औषधि बिक्री–वितरण गर्ने गरेको डाक्टरहरू बताउँछन् । निःशुल्क रूपमा पाइने औषधिलाई मान्छेअनुसार औषधि पसलेले ठग्ने गरेको डाक्टर पन्तको भनाइ छ ।
औषधिद्वारा गरिने गर्भपतनको सफलताको सबभन्दा महत्वपूर्ण पक्ष हो, गर्भको अवधि वा आकारको सही मापन । मेडिकल एबोर्सनका लागि पाठेघरको आकार पत्ता लगाउन भिडियो एक्सरे (अल्ट्रासाउन्ड) गर्नुपर्ने मान्यता छ । अर्को महत्वपूर्ण पक्ष गर्भपतन पूर्णरूपले भयो वा भएन भनेर परीक्षण गर्नु हो । तर मेडिकलमा मान्छेको ज्यान देखेका भरमा औषधि दिइने गरेको डाक्टर पन्त बताउँछिन् ।
नेपाल सरकारले सूचीकृत नगरेका ठाउँमा गर्भपतन सेवा लिनु भनेको अवैध र असुरक्षित भएको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा.पवनकुमार शाह बताउँछन् । ‘कुनै संस्था सूचीकृत पनि छैन, तर त्यहाँको म्यानपावरले तालिम पनि लिएका छैनन् भने त्यस्तो ठाउँमा गर्भपतन गर्नु असुरक्षित हुन्छ,’ उनले भने, ‘धेरै जनालाई निःशुल्क र सुरक्षित गर्भपतनबारे थाहै छैन ।’
उनीहरूलाई कहाँ जाने के गर्ने भन्ने झन्झटिलो लाग्छ । कतिपयले परिवारले थाहा नपाओस् भनी लुकेर गर्भपतन गर्छन् वा अविवाहितहरूले त्यहाँ गयो भने सबैले थाहा पाउँछन् भनेर पनि गर्भपतन गर्दैनन् । जसकारण लुकीछिपी औषधि पसलमा गएर औषधि लिएर आफूखुसी प्रयोग गर्ने गरेको डा. पन्त बताउँछिन् । यसको फाइदा मेडिकल व्यवसायी उठाएका छन् ।
डा. पन्तका अनुसार औषधि पसलेलाई औषधि सेवन र यसको डोजबारे जानकारी नै हुँदैन । कति हप्ताको बच्चा छ भनेर पनि थाहा हुँदैन, जसले गर्दा विभिन्न समस्या निम्तिने गर्छन । औषधिको डोज धेरै भए अत्यधिक रक्तस्राव हुने, पाठेघर नै फुट्ने, पूरै गर्भपतन नहुने, साल अड्केर आउनेजस्ता समस्या देखिन सक्छन् । त्यस्तै परिवार नियोजनको बारेमा धेरैलाई जानकारी नहुनुले पनि असुरक्षित गर्भपतनका घटना बढ्दै गएको पन्तको भनाइ छ ।
जितेन्द्र थापा । कर्णाली