सूचनाको शक्ति - The Power Of Information

        

नक्कली भुटानी शरणार्थी प्रकरण

३२ जनालाई साढे २० वर्ष सजाय मागदावी

३२ जनालाई प्रतिवादी बनाइनुपर्ने रायसहितको प्रतिवेदनमा ठगी, राष्ट्रहित प्रतिकुलको कसुर, कीर्ते र संगठित अपराको मुद्दा चलाउन प्रहरीको राय छ ।

नेपाली नगारिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा पक्राउ परेकाहरुमाथि साढे २० वर्षको कैद सजाय मागदावी हुने भएको छ ।

प्रहरीले सोमबार सरकारी वकिलको कार्यालयमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा आरोपीहरुमाथि जनही साढे २० वर्षको कैद सजाय हुनेगरी मागदाबी लिएर अदालतमा मुद्दा दायर हुनुपर्ने राय दिइएको हो ।

३२ जनालाई प्रतिवादी बनाइनुपर्ने रायसहितको प्रतिवेदनमा आरोपीहरुविरुद्ध छुट्टाछुट्टै चार वटा मुद्दा लगाउनुपर्ने मागदाबी छ । जसमा ठगी, राष्ट्रहित प्रतिकुलको कसुर, कीर्ते र संगठित अपराको मुद्दा चलाउन प्रहरीको राय छ ।

प्रहरीले बुझाएको रायमा ठगी, कीर्ते र राष्ट्रहित प्रतिकुलको कसूरमा अलग अलग सजाय गर्दा जम्मा १९ वर्ष सजाय हुने र संगठित अपराध बापत थप ५० प्रतिशत सजाय हुँदा अधिकतम सजाय गरेको अवस्थामा साढे २८ वर्ष सजाय हुने देखिएको उल्लेख छ ।

कानून बमोजिम सजाय मागदाबी गर्न सरकारी वकिलले अभियोगपत्र अदालतमा दर्ता गर्नुपर्ने हुन्छ । यति नै सजाय हुन्छ भनेर अहिले नै भन्न सक्ने अवस्था छैन । यो ठगी प्रकरणमा ३२ जना मुछिएका छन् । १६ जना जिल्ला प्रहरी परिसर, काठमाडौं र मातहतका इकाइको हिरासतमा छन् ।

थप १६ जनालाई फरार प्रतिवादीका रुपमा प्रतिवेदनमा समावेश गरिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै १०६ जना पीडितबाट कम्तिमा २४ करोड रुपैयाँ ठगी भएको उजुरी परेको छ ।

पीडितको उजुरीपछि अनुसन्धानको क्रममा नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई रहेका छन् ।

त्यस्तै हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि प्रहरी हिरासतमा छन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरज लगायत सम्पर्कविहिन छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १६:०४