सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, थपिए तीन मन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री चौधरीले सोमबार तीन जनालाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीमा नेपाली कांग्रेसबाट राजु खनाल, जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर र जनमत पार्टीबाट चन्द्रकेश गुप्ता छन् ।

कांग्रेसका खनालले स्वास्थ्य मन्त्रालय, जसपाका अहिरले कृषि तथा भूमि व्यवस्था मन्त्रालय र जनमत पार्टीका गुप्ताले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । कांग्रेसका खनाल दाङ क्षेत्र नम्बर २ (१) बाट, जसपाका अहिर बाँके क्षेत्र नम्बर २ (१) बाट र जनमत पार्टीका गुप्ता रुपन्देही ५ (२) बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

नवनयिुक्त मन्त्रीहरुको शपथग्रहण सोमबार दिउँसो ४ बजे बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा हुने मुख्यमन्त्री सचिवालयले जनाएको छ । मुख्यमन्त्री चौधरीले यसअघि बिनाविभागीय रहेका दुई मन्त्रीलाई पनि जिम्मेवारी दिएका छन् । लोसपाका सन्तोषकुमार पाण्डेले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री चौधरीले यसअघि नै माओवादीका धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका थिए । १० सदस्यीय मन्त्रीमण्डल रहेको लुम्बिनीमा अझै केही मन्त्रालय रिक्त नै छन् । बाँकी मन्त्री बजेटपछि नियुक्त हुने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।

लुम्बिनीमा चौधरी नेतृत्वको गठबन्धन सरकारलाई ५३ जना प्रदेशसभा सदस्यको समर्थन छ । कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र एक जना स्वतन्त्रसमेत गरी ५३ जना सांसदले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत दिएका छन् । मुख्यमन्त्री चौधरी वैशाख १४ गते नियुक्त भएका थिए ।

उनले वैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । मुख्यमन्त्री चौधरीले गत बैशाख १९ मा विश्वासको मत लिएका थिए । माओवादी नेता कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी सरकारमा १३ मन्त्रालय र ४ राज्यमन्त्रीसहितको सरकार थियो । एमालेका लिला गिरी नेतृत्वको सरकारले मन्त्रालय घटाएर १० मा झारेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १४:१७