नक्कली भुटानी शरणार्थी प्रकरणमाथि प्रहरीले गरेको अनुसन्धानको फाइल प्रहरीले आज सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ । ५५ दिन लामो अनुसन्धानपछि राय सहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
पक्राउ परेका १६ जना र अन्य प्रतिवादी बनाएर फाइल बुझाइएको हो । ‘भर्खरै फाइल प्राप्त भएको छ । हामी बुझ्दैछौं,’ सरकारी वकिल कार्यालयका सह न्यायाधीवक्ता अच्युत न्यौपानेले भने । चैत ११ गते प्रहरीले यस प्रकरणमा तीन जनालाई पक्राउ गरेको थियो ।
वैशाख ४ गतेसम्म प्रहरीले धरपकड भने जारी नै राखेको थियो । प्रहरीले संगठित अपराध, ठगी, राज्य विरुद्धको अपराध कसुरमा कारबाही गर्ने सुझाव दिएको छ । अहिलेसम्म प्रहरीले १६ जनालाई पक्राउ गरिसकेको छ । त्यस्तै अन्य १६ जनालाई प्रतिवादी बनाइएको छ ।
प्रहरीले केही मानिसको विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउपूर्जी जारी गरेको छ । २०७९ चैत १२ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे घर भएका केशवप्रसाद दुलाल र ललितपुरमा बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङलाई पक्राउ गरेको थियो ।
चैत १५ गते मोरङ पथरी घर भएका ४४ वर्षीय सागर राई पक्राउ परेका थिए । दाङ घर भएका ३३ वर्षीय सन्देश शर्मा चैत २९ गते पक्राउ परेका थिए । २० दिनपछि प्रहरीले थप एक जनालाई पक्राउ गरेको थियो । त्यसपछि त यो प्रकरण एकाएक सतहमा आयो । वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परे ।
त्यसको भोलिपल्ट वैशाख २० गते सरकारका सचिव टेकबहादुर पाण्डे पनि समातिए । उप राष्ट्रपति कार्यालयमा कार्यरत सचिव पक्राउ परेपछि ठूलै तरङ्ग ल्यायो । त्यही दिन एमाले सचिव एवम् पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी र उनको छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । वैशाख २० गते साँझ बुटवलबाट टोपबहादुरका छोरा समातिए ।
छोरा समातिएको खबर पाएका रायमाझी भने फरार रहे । वैशाख २६ गते काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पनि समातिए । उनीहरु बिचौलियाका रुपमा काम गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरीले राय सहितको प्रतिवेदन बुझाएपछि अध्यायन गरेर सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गराउने छ । प्रतिवेदन अध्यानको लागि सरकारी वकिल कार्यालयले ८ जनाको कार्यदल बनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं