सूचनाको शक्ति - The Power Of Information

        

प्रेम प्रस्ताव अस्वीकार गर्दा युवतीको हत्या

प्रेम प्रस्ताव अस्वीकार गर्दा नेपालगन्जमा एक युवतीको हत्या भएको छ । कोहलपुर–६, रझेनाकी २२ वर्षीय सुमदरानी थारूले बर्दियास्थित राजापुर–८, कोइरी गाउँका २६ वर्षीय शैलेन्द्र चौधरीको प्रेम प्रस्ताव अस्वीकार गर्दा सुमदरानीको बीभत्स हत्या गरिएको आरोप लगाउँदै शैलेन्द्रविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको हो ।

युवतीका भाइ निरेन थारूले जिल्ला प्रहरी कार्यालय बाँकेमा शैलेन्द्रविरुद्ध जाहेरी दर्ता गराएका हुन् । वैशाख २९ गते नेपालगन्जस्थित आफू बस्ने कोठामै ती युवती मृत अवस्थामा भेटिएकी थिइन् । थारूको शरीरमा चोटपटकका निसान देखिएकाले जिल्ला प्रहरी कार्यालय बाँकेले सुमदरानीको हत्या आशङ्कामा अनुसन्धानसमेत सुरु गरेको थियो ।

प्रहरीले ती युवती भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा कम्प्युटर सम्बन्धी डिप्लोमा कोर्षका लागि आफ्नो भाइ निरेनसँगै नेपालगन्जमा बस्दै आएको जनाएको छ । निरेनले दर्ता गराएको जाहेरीमा मृत अवस्थामा फेला परेको थारूको कोठामा आरोपित चौधरीले प्रयोग गर्दै आएको रेड्मीको मोबाइल, निजले लगाएको जिन्स पाइन्ट र हेल्मेटको भाइजरका टुक्रा र चक्कु भेटिएको उल्लेख छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार ०६:१८