सूचनाको शक्ति - The Power Of Information

        

कमेडी च्याम्पियन विजेता भरतमणीले २५ लाख नपाएपछि…

कमेडी च्याम्पियन सिजन २ मा विजेताले पाउनुपर्ने पुरस्कारको रुपमा एक कार र नगद २५ लाख भनिएको थियो । त्यो पुरस्कार र टाइटल जित्नका लागि कमेडीयनहरु निकै प्रतिस्पर्धामा थिए । त्यही प्रतिस्पर्धाबाट भरतमणी पौडेल विजेता बने ।

भरतमणीले सोचेका थिए एउटा कार र नगद २५ लाख रुपैयाँ पाउँछु । तर अहिले भरतमणी आश्चर्यमा परेका छन् । विजेता भएकै दिन कार देखाइयो र केही समयमा उनलाई हस्तान्तरण पनि गरियो तर नगद रकम लामै समय उनको हातमा परेन ।

ढिलै भए पनि आउला नि भनेर भरतमणी चुप बसे । बिजेता बनेको एकबर्ष पुग्न लाग्दा उनले पाउनुपर्ने रकम बल्ल पाए । ढिलै भए पनि भरतमणिले २५ लाख आउने भयो भन्ने सोचेका थिए, तर उनको हातमा जम्मा १४ लाख २५ हजार मात्र आयो ।

भरतमणी आश्चर्यमा परे, किन यति थोरै रकम आयो भनेर । हिमालय टेलिभिजनको ‘सेलेब्स टक शो’मा गरिएको कुराकानीमा भरतमणीले आफूले २५ लाख भनिएकोमा जम्मा १४ लाख २५ हजारमात्र पाएको बताएका छन् । उनले आकस्मिक लाभान्स करसँगै विभिन्न कर काटिएर त्यति रकम पाएको बताए ।

‘मलाई थाहा थिएन यति थोरै आउँछ भन्ने कुरा । अलि–अलि काटिएला भन्ने लागेको थियो तर झण्डै आधा नै काटिँदा अचम्ममा परेँ,’ भरतमणीले भनेका छन्, ‘पछि केके कुरा काटियो भनेर सोधे तर विभिन्न करको लिस्ट नै देखाउनुभयो । केही भन्न मिलेन ।’ उनका अनुसार आफूले पुरस्कारको रुपमा पाएको कारको पनि विभिन्न कर भनेर त्यहि रकमबाट काटिएको हो ।

उनले अहिले आएर दुख मानेर, असन्तुष्ट व्यक्त गरेर केही नहुने भन्दै मन बुझाएको बताउँछन् । साथै उनले अहिलेसम्म आफूले पाएको कार आफ्नो नाममा पास नगरिदिएको भन्दै गुनासो पोखेका छन् । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीलाई पनि बारम्बार भनेको तर अहिलेसम्म केही नभएको बताएका छन् ।

भरतमणीले कुनै पनि विजेताले पाउने पुरस्कारमा कर नकाटिदिए हुन्थ्यो भन्छन् । उनी भन्छन्, ‘बरु थोरै नै यति पाइन्छ भनिदिए हुन्थ्यो होला । त्यसमै खुसी भइन्थ्यो ।’ पछिल्लो समय भरतमणी विभिन्न स्टेजमा व्यस्त छन् । अहिलेसम्म चार वटा देशमा प्रस्तुतिकै लागि पुगेका उनले कुनै टेलिभिजनका शोमा आबद्ध भएर काम भने गरेका छैनन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार ०८:४६