सूचनाको शक्ति - The Power Of Information

        

सबैलाई मनपर्ने फल केरा खानुका फाइदा

केरा सबैलाई मनपर्ने फल हो । राम्रो र पौष्टिक आहार स्वास्थ्यको लागि लाभदायक हुन्छ । तौल बढाउन वा शरीर निर्माण गर्न चाहने दुब्ला पातला मानिसले केराको सेवन गर्नु निकै राम्रो हुन्छ । राम्रो व्यक्तित्व र बलियो मांसपेशीका लागि केरा खान सकिन्छ । शारीरिक तन्दुरुस्ती सन्तुलनका लागि पनि केरा लाभदायक मानिएको छ ।

केरामा प्रशस्त मात्रामा फाइबर पाइन्छ । केराको नियमित सेवनबाट स्वास्थ्य सम्बन्धी धेरै रोगबाट बच्न सकिन्छ । मुटु सम्बन्धी समस्यादेखि महिलाको महिनावारीको अनियमिता, छाती पोल्ने, कब्जियत लगायतका शरीरका अन्य स्वास्थ्य सम्बन्धित समस्या समाधानका लागि केरा निकै उपयोगि रहेको चिकित्सकको भनाइ छ ।

केरा सेवनबाट तत्कालै ऊर्जा मिल्छ । केरामा पोटासियमको मात्रा धेरै हुन्छ र जसकारण रक्तचाप घटाउनका साथै शरीरमा तरल पदार्थको सन्तुलन नियन्त्रण गर्न सकिन्छ । केराले हड्डी बलियो बनाउन मद्दत गर्छ साथै केराको सेवनले डिप्रेसनबाट समेत मुक्त हुन सकिन्छ ।

केराका खानुका फाइदा

  • केरामा भएको ’भिटामिन बी’ ले रगतमा ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ ।
  • दैनिक खाली पेटमा केरा खाँदा दुब्लो पातलो ज्यानबाट मुक्तहुन सकिन्छ । नियमित रूपमा बिहान केरा खाने गर्दा दुब्लोपनको समस्या टाढा जान्छ र शरीरको तौल धेरै छिटो बढ्छ ।
  • हरेक दिन बिहान खाली पेटमा केरा खाँदा अनुहारमा दाग आउने समस्या हट्न मद्दत पुग्छ । यसको सेवनले अनुहारको छालामा चाँडै चमक आउँछ ।
  • गर्मी मौसममा शरीरको आँत शीतल पार्नका लागि पनि केराको सेवन निकै उपयोगी हुन्छ ।
  • कब्जियतको समस्या भएमा केरा सेवन गर्दा यो समस्या विस्तारै हट्दै जान्छ ।
  • गर्भावस्थामा वाकवाकी हुने, वान्ता हुने र चक्करजस्ता समस्याबाट बच्न केराको सेवन गर्नु राम्रो हुन्छ ।
  • छाती पोलेको अवस्थामा केरा खाँदा तुरून्तै लाभ लिन सकिन्छ ।
  • लामखुट्टेले टोकेर दुखेको, चिलाएको वा सुन्निएको ठाउँमा केराको बोक्राको भित्री भागले हल्का मालिस गर्दा दुखाइ कम हुन्छ ।
  • बिहान खाली पेटमा केरा खाँदा पेटमा ग्यासको समस्या कम हुँदै जान्छ ।
  • अनुहारको छालामा केराको गुदीमा मह, गुलाव जल र केही थोपा कागती मिसाएर बनाएको प्याक लगाउँदा छाला गोरो हुनुका साथै चम्किलो र सफा देखिन्छ ।
  • केराको सेवन पेटको अल्सर तथा ग्यास्ट्राइटिसका रोगीका लागि फाइदाजनक हुन्छ ।

कस्तो व्यक्तिले खानु हुँदैन केरा

पहिलादेखि नै मोटोपना भएका मानिसले केरा सेवन गर्नुहुँदैन । केराको सेवनले झनै मोटोपना बढाउन सक्छ । साथै जो मान्छेमा रुघाखोकी लागेको छ उनीहरुले पनि केरा खानु स्वास्थ्यका लागि राम्रो मानिदैन ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार ०७:१८