सूचनाको शक्ति - The Power Of Information

        

विमानस्थलबाटै करोडौंको सुन तस्करी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करोडौंको सुन तस्करी हुँदै आएको खुलेको छ । प्रहरीले विमानस्थलस्थित भन्सार कार्यालयका नायब सुब्बासहित चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नासु रेवन्त खड्कासहित चार जनालाई केही दिनअघि पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा उनीहरुको मिलेमतोमा बिद्युतीय चुरोटभित्र लुकाएर करिब ६ करोड रुपैयाँ बराबरको सुन तस्करी भएको खुलेको छ ।

विगतमा पनि यसरी तस्करी हुँदै आएको अनुमान गरिएको छ । गत पुसमा विमानस्थल भन्सार कार्यालयले बिद्युतीय चुरोट राखिएका दुई सुटकेश बरामद गरेको थियो । एकै व्यक्तिले ठूलो मात्रामा बिद्युतीय चुरोट विदेशबाट ल्याएको देखेपछि भन्सारले अनुसन्धानका लागि नियन्त्रणमा लियो । ती सुटकेश चीनबाट ल्याइएको थियो ।

सुटकेश भन्सारमा रहेका बेला नासु खड्काले त्यसमा अर्काे बिद्युतीय चुरोट राखेर त्यसलाई पास गराएका थिए । खड्का भन्सारको मुद्दा शाखाका कर्मचारी हुन् । त्यसरी साटिएको बिद्युतीय चुरोटमा झन्डै ६ किलो सुन थियो । ‘नासुले नै भन्सारको गोदामबाटै बिद्युतीय चुरोट साटफेर गरेको पुष्टि भएको छ,’ भन्सार कार्यालय स्रोतले भन्यो ।

पक्राउ पर्नेमा एक भन्सार एजेन्ट र दुई जना सुन व्यापारी छन् । व्यापारीले भन्सार एजेन्टमार्फत नासु खड्कालाई आर्थिक प्रभावमा पारी ती सुन तस्करी गराउन सफल भएका थिए । साटफेर गरिएको बिद्युतीय चुरोट पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेका नासुले सुन तस्करी गरेवापत ६५ लाख पाएका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार ०७:०८