दाङको देउखुरीमा शुक्रबार बिहान दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियार रहेकी छन् । दुर्घटनामा उनका दुई छोरासहित २३ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर छ ।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए । दुर्घटना बिहान करिब पौने ७ बजेको समयमा भएको हो ।
डिएसपी गौतमका अनुसार घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेहरूमध्ये ७ जनालाई भैरहवा, ३ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र २ जनालाई नेपालगञ्ज रिफर गरिएको छ ।
अन्य घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ ।
सत्यपाटी संवाददाता । दाङ