सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरका विद्यार्थीलाई शैक्षिक सामाग्री

नरैनापुर गाउँपालिका वडा नम्बर १ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय महतिनियामा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोरनिया, अमेरिकाको सहयोग र देवराली फाउण्डेसनको सहकार्यमा विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई एक वर्ष पुग्ने गरी कापी वितरण गरिएको देवराली फाउण्डेशनका अध्यक्ष भिम घिमिरेले जानकारी दिए । विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले विद्यार्थीलाई विद्यालयबाट नै नैतिकताको शिक्षा सिकाउन आवश्यक रहेको बताए ।

‘सबैभन्दा पहिला शिक्षकबाट नै विद्यार्थीलाई गरिने व्यवहारमा सुधार गर्न आवश्यक छ,’ उनले भने, ‘गाउँपालिका भित्र नीति नै बनाएर विद्यालय सुधारको योजना अघि बढाउने तयारीमा छौ ।’

अध्यक्ष शाहले नरैनापुरमा आएर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेकोमा एनआरएनए र देवराली फाउण्डेशनलाई धन्यवाद दिदै नरैनापुरको शिक्षाको स्तर माथि उकास्नतर्फ भूमिका खेलिदिन आग्रह गरे ।

एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोरनिया, अमेरिकाका अध्यक्ष माधव मरासिनीले हालसम्म शैक्षिक सामग्री नपाएका गरिब विद्यार्थीलाई पठन पाठनमा सहजता ल्याउन र शैक्षिकस्तर उकास्न सहयोग स्वरुप देशकै उत्कृष्ट नरैनापुर गाँउपालिकाको वडा नम्बर १ को विद्यालयमा शैक्षिक सामाग्री उपलब्ध गराइएको बताए ।

उनले नरैनापुरको शैक्षिक स्तर माथि उकास्नका लागि भविष्यमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १८:०८