बाँकेको नेपालगन्ज उपमहानगरपालिकाभित्र विभिन्न रोगविरुद्धको खोप लगाउन छुटेका र बीचैमा खोप लगाउन छोडेका बालबालिकालाई खोप लगाउन थालिएको छ ।
‘खोज र खोप’ अभियान सञ्चालन गरेर नियमित खोप लगाउन थालिएको हो । उक्त अभियान अन्तर्गत नेपालगन्जमा १९० जनालाई समेटिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजन शाहीले खोप लगाउन छुटेका बालबालिकालाई नियमित खोपमा समेट्ने बताए ।
उनले भने, ‘नेपालगन्जमा प्रत्येक महिनाको ६ देखि ११ गतेसम्म नियमित खोप लगाइन्छ । खोप लगाउन छुटेका बालबालिकाको खोजी अभियान पनि सँगसँगै अघि बढाएका छौँ ।’ जनस्वास्थ्य निरीक्षक शाहीका अनुसार बीचैमा खोप लगाउन छोडेका २९४ मध्ये १३९ बालबालिकालाई खोप लगाइएको छ । अझै १५५ बालबालिकालाई खोप लगाउन बाँकी छ ।
नेपालगन्जमा यसअघि गत वैशाख १५ गते बालबालिकालाई खोप लगाइएको थियो । ‘खोज र खोप’ अभियान सञ्चालनका क्रममा नेपालगन्जमा ६९२ बालबालिकाले बीचैमा खोप लगाउन छोडेको पाइएको थियो । ‘१७७ बालबालिकाले कुनै पनि खोप नलगाएको पाइएको थियो,’ शाहीले भने, ‘घरधुरी सर्वेक्षण गरेर बीचैमा खोप लगाउन छोडेका, खोप नै नलगाएकाको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ ।’
सत्यपाटी संवाददाता । बाँके